इटहरीः जेठ १९ गते बुधबार सुनसरीको इटहरी उपमहानगरपालिकाका कर शाखा प्रमुख नवीन भट्टराईको नेतृत्वमा गएको अनुगमन टोलीले जथाभावी अनुगमन गरेको भन्दै औषधि व्यवसायीले गरेको आन्दोलनको विषयमा नागरिक समाज इटहरीले उपमहानगरलाई ध्यानाकर्षण पत्र बुझएको छ ।

नगर प्रमुख द्वारिकलाल चौधरीलाई भेटर वर्तमान अध्यक्ष सन्तबहादुर डुम्जनसहित पूर्वध्यक्षहरुको उपस्थितिमा नागरिक समाजले ध्यानाकर्षण पत्र बुझएको हो । उपमहानगरले विज्ञ तथा अन्य सम्बन्धित निकायको अनुपस्थितिमा नै अनुगमन गरेर पसल बन्द गरेको र उपमहानगरमा त्यस विषयमा बसेको बैठकमा उमपेयर लक्ष्मी गौतमले गैरजिम्मेवारीपूर्ण व्यवहार देखाएको भन्दै इटहरीका औषधि व्यवसायीले जेठ २० गते सबै पसलहरु बन्द गरेका थिए ।

image0 1

सोही विषयमा नागरिक समाजले ध्यानाकर्षण पत्र बुझएको छ । पत्रमार्फत् नागरिक समाजले यस्तो अवस्थामा स्वास्थ्य संस्था बन्द गर्नु अभिसाप भएको भन्दै त्यो नगर्न व्यवसायीलाई अनुरोध गरेको छ । कोबाट गल्ति भएको भन्ने विषयमा छानबिन गरी आवश्यक कानूनी कारबाही गर्न नागरिक समाजले सुझाएको छ । ‘उपमहानगरपालिकाबाट गरिने अनुगमन कार्य प्रभावकारी, सत्यतथ्यसहित यथोचिच होस् भन्ने अनुरोध गर्दछौँ’, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘साथै गल्ति गर्नेउपर ऐन कानून र विधिसम्मत कारवाही हुनुपर्छ भन्ने नागरिक समाज इटहरीले जोडदार माग गर्दछौँ ।’

यस्तै २० गतेको छलफलमा उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले नागरिक समाजको मर्म र भावना नबुझी आफ्नो वक्तव्य दिएको भन्दै छलफलको क्रममा भएको प्रतिकुल परिस्थितिप्रति पनि नागरिक समाजको गम्भिर ध्यानाकर्षण भएको बताएइको छ । २० गते दिनभर बन्द भएका औषधि पसलहरु नागरिक समाजले अनुरोध गरेपछि सोही दिन अपराहन्न ४ बजेबाट पूर्ण रुपमा सञ्चालनमा आएका थिए ।