इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा जारी निषेधाज्ञाको अवधि थप गरेको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जेठ १४ गतेदेखि जारी निषेधाज्ञालाई जेठ ३१ गतेसम्मका लागि निरन्तरता दिएका हुन् । कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको दोस्रो लहर सुरु भएयता जिल्लामा संक्रमितको संख्या बढिरहेको र मानवीय क्षतिसमेत भइरहेको अवस्थालाई मध्यनजर गर्दै जेठ ३१ गते मध्यराति १२ः०० बजे सम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रजिअ ढकालले बताए । उनका अनुसार निषेधाज्ञा अवधिमा अत्यावश्यक बाहेकका कुनै पनि सवारी साधन सञ्चालन गर्न पाइने छैन ।
दुध, फलफूल, तरकारीजस्ता अत्यावश्यक खाद्यवस्तु बोकेका सवारीलाई भने अवरोध नगरिने उनले प्रष्ट पारे । बैँक तथा वित्तीय सँस्थाहरु सम्बन्धित स्थानीय तहको स्वीकृतिमा जेठ २३ गतेदेखि हप्तामा तीन दिनसम्म सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । औषधि पसल तथा अस्पतालबाहेक अन्य सबै किसिमका सेवा तथा व्यवसाय बन्द रहनेछन् ।