ब्रिस्टल हार्बोरमा रहेको ब्रोन्जले बनाएको १७औँ शताब्दीका दास व्यापारी एडवर्डको मूर्ति सन् २०२० जुन ७ मा प्रहरीहरुले जर्ज फ्लोयडको हत्या गर्दाताका फालिएको थियो ।
सोही मूर्ति यही शुक्रबार एम शेद म्युजियममा प्रदर्शनीमा राखिएको छ, जहाँ मूर्तिका साथै जर्जको हत्याविरुद्ध भएको प्रदर्शनीमा प्रयोग भएका प्लेकार्डहरु पनि राखिएका छन् । म्युजियममा हुने प्रदर्शनीमा ब्रिस्टोलका स्थानीयहरुलाई पनि बोलाइएको छ । यो प्रदर्शनीपछि मूर्तिलाई के गर्ने भन्ने सर्वेक्षणका लागि उनीहरुलाई बोलाइएको हो । प्रदर्शनीपछि यो मूर्तिलाई के गर्ने, कता राख्ने भन्ने कुरा तय गर्न सर्वसाधारणको विचार लिइनेछ । युनिभर्सिटी अफ द वेस्ट इंग्ल्यान्डका सहयोगी प्रोफेसर तथा ब्रिस्टोल इतिहास आयोगका सदस्यमध्ये एक डा. शोन सोबर भन्छन्, “हामीलाई थाहा छ, यो कुनै पृथक घटना होइन । हामीलाई थाहा छ, विश्वभरि नै यस्ता मूर्तिहरु छन्, जसले दासत्व मनाउँछ ।”
उनी अगाडि थप्छन्, “जातिवादविरोधी आन्दोलन मूर्तिको बारेमा होइन । यसले समाजबाट जातीयताको उन्मूलन गर्ने र समानता ल्याउने प्रयास गरिहेको छ, जहाँ जातीय असमानता रहेको छ र जसले आर्थिक विभाजनलाई काट्छ ।” यी मूर्तिहरु बेलायतका सहरुहरुले वास्तवमै यी मुद्दाहरुलाई कतिको गहिरो रुपमा लिइरहेका छन् भन्ने कुराको प्रतीक भएको उनले बताए । उनका अनुसार यो मूर्ति म्युजियममा प्रदर्शनीमा राख्नाले ‘फराकिलो इतिहास’ बाहिरिने र मानिसलाई यसबारे बोल्न प्रेरित गर्नेछ । यस्तै, ब्रिस्टोलका मेयर मार्भिन रीस भन्छन्, “यो मूर्तिको भविष्यको निर्क्योल ब्रिस्टोलका स्थानीयहरुले तय गरोस् भन्ने म चहान्छु । त्यसैले म सबैलाई यो मौकाको फाइदा उठाएर आ–आफ्नो विचार राख्न आग्रह गर्दछु ।” -बीबीसीबाट