धरानः सुनसरीको धरान–१६ नौलो मार्गका केही व्यक्तिहरु सर्दुखोलाको शिरबाट निहुरो र गुर्बो संकलन गरेर जिविका चलाई रहेका छन् ।

नौलो मार्गका ७–८ जनाको समूह बिहान ५ बजे नै डोको बोकेर सर्दु खोलैखोला उकालो लाग्छन् । कोरोनाको महामारी अनि कामबाट वञ्चित भएपछि उनीहरूलाई दैनिक घरव्यवहार चलाउन समस्या भएकोले जङ्गल पुगेर गुजारा गरिरहेका छन् । समस्या भएपछि दैनिक बिहान ५ बजे सर्दु खोलैखोला करिब ४ घण्टा लगाएर भेडेटार पुग्छन् । खोलैखोला भेडेटार पुगेर निहुरो, गुर्बो टिप्छन् । निहुरो र गुर्जो टिपिसकेपछि उनीहरु फेरी त्यही खोलाखोला ओरालो लाग्छन् । उनीहरू घर आइपुग्दा प्रायः बेलुकीको ४÷५ नै बज्छ । उनीहरूकको दैनिकी यसरी नै बितिरहेको छ । लकडाउन हुनुपूर्व उनीहरुको समूह नै विवाह, पास्नीलगायतका भोजभतेरमा कुक र भाडा माझ्ने काम गर्दै आएको थियो । लकडाउन भएपछि विवाह, पास्नीलगायतका कार्यक्रमहरु बन्द भएका छन् । यस्ता कार्य बन्द भएपछि कुक काम गरेर गुजारा चलाउँदै आएका उनीहरुको रोजगारी गुमेको हो ।

IMG20210603164046 IMG20210603164314 (1)

 

काम बन्द भएर छाक टार्न नै धौधौ हुन थालेपछि उनीहरु निहुरो तथा गुर्जो संकलन गर्न भेडेटारनजिक पुग्न थालेका हुन् । निहुरो तथा गुर्जो लिएर उनीहरु घरमा मुठा मुठा बनाउछन् । अनि फेरी डोकामा मुठा बोकेर विक्रि गर्न हिड्छन् । उनीहरु दिनभरि संकलन गरेर लिएको निहुरो र गुर्जो आफ्नै क्षेत्रतिर बिक्री गर्छन् । निहुरो र गुर्जो बिक्री गरेर प्रतिव्यक्ति दैनिक दुई सयदेखि चार सयसम्म कमाउँछन् । नौलो मार्गकी चन्द्रकला थापा लकडाउन भएपछि रोजगारी नपाएर खान नै समस्या हुन थालेपछि विकल्प खोजेको बताउँछिन् । उनी भन्छिन्, ‘बिहान ५ बजे जान्छौ, बेलुका ३–४ बजे आइपुगिन्छ । घर आएर मुठा बनाएर ४० रुपैयाँ गोटा बिक्री गर्छाँै, अहिले बजार बन्द भएको बेला ताजा सब्जी भनेर राम्रै बिक्री हुन्छ ।’ जङ्गलमा सँधै नपाउने र खोलैखोला जाँदा कोरोना भाइरसको पनि डर नहुने भएको साथै बाँच्न पनि आधार भएको उनीहरु बताउँछन् । उनीहरुले आफूहरु समस्यामा रहेको भन्दै आवश्यक राहत प्याकेज ल्याउन समेत सरकारले पहल गर्नुपर्ने माग राखेका छन् ।

 

IMG20210603171252