इटहरीः मोरङको विराटनगरस्थित एयरपोर्टमोड रोडमा हिजो साँझ करिब ७ः३० बजे प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्ने कारको ठक्करबाट एक भारतीय नागरिकको ज्यान गएको छ ।
मृत्यु हुनेमा विराटनगर ४ स्थित न्यू एभरेस्ट फर्निचर उद्योगमा कार्यरत ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्मा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार प्रदेशसभा सदस्य कार्कीले प्रयोग गर्ने प्रदेश ३ ०१ ००२ च २१३९ नम्बरको कार कार्कीका छोरा रोविन कार्कीले चलाएकोमा शर्मा र उनका साथी मोरङको कटहरी गाउँपालिका २ का २७ वर्षीय राजकुमार राजवंशीलाई ठक्कर दिएका थिए ।
दुर्घटनापछि गम्भीर घाइते भएका शर्मालाई उपचारार्थ कोसी अस्पताल पुर्याउनासाथ उनको ज्यान गएको थियो भने अर्का घाइते राजवंशीको विराटनगरकै नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार जारी रहेको छ । कारमा प्रदेशसभा सदस्य कार्कीका साथै अर्की एक युवतिसमेत सवार रहेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि फरार भएका भएका कार चालक रोविनको खोजी तिव्र पारिएको प्रहरीले जनाएको छ ।