काठमाडौँः काठमाडौं महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ ।

दोस्रो लहरको कोभिड–१९ का कारण देशका अधिकांश जिल्लामा बन्दाबन्दी गरिएको छ । यस समयमा कसैलाई दैनिकी चलाउनका लागि खाद्य सामग्री आवश्यक परे महानगरपालिकाको हटलाइन नम्बरमा फोन गर्न भनिएको हो । अघिल्लो वर्षको कोरोना महामारीका समयमा विभिन्न संघ–संस्था र महानगर आफैँले पनि वडासँग समन्वय गरी समस्यामा परेकालाई खाद्य सामग्री वितरण गरेको थियो । “गत वर्षको तुलनामा यस वर्ष खानका लागि समस्या प¥यो भन्दै आउनेको संख्या एकदमै कम रहेको छ, आएकालाई वडा कार्यलयमार्फत सहयोग गरिरहेका छौँ,” महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले भने, “कोही समस्यामा परेर पनि कहाँ सम्पर्क गर्ने भनेर अन्योल हुनुभएको भए आफू बसोबास गरेको स्थानसहित ११८० मा फोन गरेर जानकारी गराउन आग्रह गर्दछु ।”

यसरी जानकारी प्राप्त भएपछि महानगरपालिकाका ३२ वडामध्ये कुन वडाबाट सहयोग गर्न सहज हुन्छ, सोहीअनुरुप आवश्यक खाद्य सामग्री सहयोग गरिने जनाइएको छ । “कोभिडका बिरामीलाई उपचारमा सहज होस् भन्ने हेतुले बिरामीलाई अस्पताल पुग्न पनि कोभिड–१९ का बिरामीका लागि फोन नम्बर १०२ मार्पmत १० र नन्कोभिड बिरामीका लागि १० गरी कुल २० निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । त्यसबाट हालसम्म २२ हजार कोभिड संक्रमित बिरामी र १२ हजार नन्कोभिड बिरामीले सेवा लिएका छन्,” उनले भने । महानगरपालिकाले अक्सिजनको चरम अभावका कारण उत्पन्न असहज अवस्थालाई ध्यानमा राखेर अक्सिजनकै कारण अस्पतालमा हुने बिरामीको चापलाई कम गर्न ३०९ शय्याको आइसोलेसन र विशेष अस्पताल सञ्चालनमा ल्याएको छ ।

महानगरको आर्थिक सहयोगमा सामाखुसीस्थित राधास्वामी सत्संग भवनमा नेपाली सेनाको व्यवस्थापनमा ८८ अक्सिजनसहित १७४ शय्याको आइसोलेसन केन्द्र, आयुर्वेद अस्पतालमा ५० अक्सिजनसहित १०० शय्याको आइसोलेसन केन्द्र र छत्रपाटी निःशुल्क चिकित्सालयमा आईसीयू तथा भेन्टिलेटरसहितको ३५ शय्याको कोभिड–१९ विशेष अस्पताल सञ्चालनमा छ । हाल महानगरपालिकामा ६२ हजार ३८३ कोरोना संक्रमित रहेकामा ५१ हजार १६७ निको भएका छन् भने १० हजार ९५ होम आइसोलेसन र १८६ संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै, यहाँ हाल १० हजार ७९७ सक्रिय संक्रमित रहेका र यहाँ ५१६ जनाले अस्पतालमा उपचार गराइरहेका छन् । यहाँ कोरोनाका कारण ४१९ ले ज्यान गुमाएको तथ्यांकमा उल्लेख छ । -रासस