चितवन:अस्पतालमा एउटा बिरामीबाट अर्काे बिरामी र स्वास्थ्यकर्मीमा संक्रमक रोग सर्ने उच्च जोखिम हुन्छ ।
कतिपयले अस्पतालबाटै रोग सारेर लैजाने गरेको पाइएको छ । यस्ता रोग नसरोस् भन्नका लागि चितवनको एक मेडिकल कलेजले ‘नेगेटिभ सेक्सन’ जडान गरेको छ । चितवन मेडिकल कलेजको आईसीयू (सघन उपाचारकक्ष)मा नेगेटिभ सेक्सन जडान गरिएको छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेका अनुसार संक्रमक रोग नफैलियोस् भन्नका लागि हरेक शय्याको माथि उपकरण जडान गरिएको छ । सो उपकरणले बिरामीबाट निस्किएको कीटाणुसहितको श्वासलाई प्रशोधन गरेर बाहिर फाल्छ । बाहिरबाट स्वच्छ हावा भित्र पठाउँछ । न्यौपानेले भने, “यसबाट बिरामी र स्वास्थ्यकर्मी दुवै जोगिन्छन् ।” चीनमा कोरोना देखिएसँगै मेडिकल कलेजले सो उपकरण जडान गरेको हो । उनका अनुसार १९ शय्याको सो सघन उपचारकक्षमा कोरोना संक्रमितलाई राखेर उपचार गरिँदै आएको छ ।
सो कक्षमा काम गर्ने स्वास्थ्यकर्मी सुरक्षित हुने उनको भनाइ छ । न्यौपानेका अनुसार यसका अतिरिक्त अन्य सरुवा रोगमा पनि बिरामी र स्वास्थ्यकर्मी लाभान्वित हुनेछन् । एउटै सघन उपचारकक्षमा फरक–फरक रोगका बिरामीको उपचार गर्नुपर्दा यो निकै उपयोगी हुने बताइन्छ । १९ वटा नेगेटिभ सेक्सन जडान गर्दा १९ करोड रुपैयाँभन्दा बढी लगाानी भएको न्यौपानेले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार विश्वका विकसित मुलुकमा यस्ता उपकरण राख्ने गरिन्छ । उनले भने, “यसले हावा र थुकका छिटाहरुबाट सर्ने रोगबाट अन्य बिरामी र स्वास्थ्यकर्मीलाई जोगाउँछ ।” त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीले सामान्य सावधानी अपनाए पुग्छ । बिरामीहरुले मास्क लगाउनु पर्दैन । यस्ता प्रविधि जिल्लामा हुँदा सरुवा रोगको महामारीको समयमा निकै उपयोगी हुने तिवारीको भनाइ छ ।
इन्फ्लुएन्जा, क्षयरोग, सार्स, दादुराजस्ता संक्रमक रोगबाट यसले बचाउने तिवारी बताउँछन् । नेपालमा यो उपकरण जडान गर्दै आएको एयरटेक प्रालिका प्रबन्ध निर्देशक मनोज भन्साली ठूला अस्पतालमा यस्ता उपकरण जडान हुन थालेको बताउँछन् । यसले रोग सर्न नदिने हुँदा बिरामी र स्वास्थ्यकर्मी लाभान्वित हुने भन्दै उनले कोरोनाको समयमा यो निकै उपयोगी भएको बताए । -रासस