उदयपुरः कोरोना संक्रमणका कारण रौतामाई गाउँपालिका–७, मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइँला छोराको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो भने १७ गते सोही परिवारका ५० वर्षीय जेठा छोराको मृत्यु भएको थियो । आज बिहान होम आइसोलेसनमा नै उपचार गराउँदै गरेकी ६५ वर्षीया आमाको पनि मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कान्छा छोरा भने कोरोना उपचारपछि तीन दिनअघि निको भएर घर फर्किएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए ।
यसरी एउटै घरका दुई छोरा र आमाको कोरोनाका कारण मृत्यु भएको उदयपुरकै पहिलो घटना भएको प्रमुख सुवेदीले बताए । जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या आज बिहानसम्ममा ३७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । -रासस