इटहरीः मोरङको केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्तबहादुर राईको हत्यामा संलग्न रहेका चार जना फरार अभियुक्तहरु चार थान भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

गत वैशाख ८ गते मृतक राईसहित १० जनाको समुहमा स्थानीय बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्न गएकोमा समुहकै गजेन्द्र राईले चलाएको भरुवा बन्दुकको गोली लागेर राईको मृत्यु भएको थियो । घटनाको जानकारी पाएलगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न रहेकामध्ये रुविन लिम्बू र गजेन्द्र बहादुर राईलाई बैशाख ९ गते नै १ थान भरुवा बन्दुकसहित पक्राउ गरेको थियो । सोही घटनामा संग्लग्न रहेका अन्य अभियुक्तहरुको खोजतलास भइरहेकोमा जेष्ठ १९ गते केराबारी गाउँपालिका.–३ का ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय बुद्धवीर लिम्बू, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का १९ वर्षीय विपन लिम्बू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए ।

उनका अनुसार अभियुक्तहरु पक्राउ परेसँगै थप अनुसन्धान गर्ने क्रममा घटनामा प्रयोग भई उनीहरुले जंगलको ओडारमुनि लुकाइछिपाई राखेको ४ थान भरुवा बन्दुकसमेत बरामद गरिएको हो । घटना सम्बन्धमा विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।