इटहरीः अहिले सुनसरीको इटहरीमा औषधि पसल सञ्चालन गर्ने व्यवसायी आन्दोलित बनेका छन् । यसका साथै आज (बिहीबार)देखि इटहरीमा औषधि पसल अनिश्चतकालका लागि बन्द गर्ने निर्णय गरेका छन् ।
सोही अनुसार इटहरीका सम्पूर्ण औषधि पसल बन्द भएका छन् । जेठ १९ गते बुधबार इटहरी उपमहानगरले अनुगमन गरेर दुई औषधि पसल र एक औषधिको थोक बिक्रेताकहाँ ताला लगाएपछि व्यवसायीले विरोध स्वरुप ताला लगाएको बताएका छन् । यस्तै बिहीबार बसेको बैठकमा उपमहानगरको टोलीका तर्फबाट गैरजिम्मेवार जवाफ दिइएको भन्दै व्यवसायी आन्दोलितसमेत बनेका छन् । आन्दोलित व्यवसायीले उपमेयर मूर्दावाद सम्मका नारा लगाएका छन् ।
यता, उपमहानगरले भने यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । नगर प्रमुख द्धारिकलाल चौधरीले अनुगमनको विषयमा सत्यतथ्य छानबिन गर्ने र आवश्यक परे उपमहानगरले प्रेस विज्ञप्तिसमेत जारी गर्ने बताएका छन् । साथै कोरोना महामारीको यो समयमा औषधि पसल बन्द गर्नु दुःखद भएकाले त्यो नगर्न चौधरीले अनुरोध गरेका छन् । मेयर चौधरीले नगरको गल्ति भएको भए औषधि पसलहरु निर्दोष हुन् भनेर प्रेस विज्ञप्ति निकाल्ने भनेकाले आफूहरु केही आश्वस्त भएको औषधि व्यवसायी संघ इटहरीका अध्यक्ष तथा औषधि व्यवसायी सञ्जीव खड्काले जानकारी दिएका छन् ।