इटहरीः सुनसरीको इटहरीका औषधि व्यवासयीहरुले आफूले सञ्चालन गरिहेको औषधि पसल अनिश्चितकालका लागि बन्द गरेका छन् ।

जेठ १९ गते बुधबार इटहरी उपमहानगरपालिकाका कर शाखा प्रमुख नवीन भट्टराईको नेतृत्वमा गएको अनुगमन टोलीले जथाभावी अनुगमन गरेको र आज (बिहीबार) उपमहानगरमा त्यस विषयमा बसेको बैठकमा उमपेयर लक्ष्मी गौतमले गैरजिम्मेवारीपूर्ण व्यवहार देखाएकाले आफूहरुले स्वयम पसल बन्द गरेको व्यवसायीले बताएका छन् । उपमहानरको अनुगमन टोलीले बुधबार एक वर्षभन्दा कम उमेरका शिशुलाई खुवाउने ‘सनलाइट डि थ्रि’ नामक औषधिको उत्पादन मिति केरमेट गरेको भन्दै बजार अनुगमन गरेको थियो । सोही क्रममा अनुगमन टोलीले सामुदायिक अस्पताल र कलश पोलिक्लिनिक तथा यसको थोक विक्रेता ‘एरव मेडिकोस् एण्ड ट्रेडिङ’मा ताला लगाएको थियो ।

यही विषयलाई लिएर इटहरीका औषधि व्यवसायी बुधबारदेखि नै आन्दोलित भएका थिए । तर, उपमहानगरले बिहीबार बैठक बसेर निकास निकाल्ने भनेकाले आफूहरु चुप बसेको तर आजको बैठकमा उपमहानगरले नै गैरजिम्मेवारीपूर्ण जवाफ दिएकाले आफूहरुले बन्द गर्ने निणर्य गरेको औषधि व्यवसायी संघ सुनसरीका उपाध्यक्ष प्रतापकुमार श्रेष्ठले जानकारी दिएका छन् ।  साथै यसबाट पर्ने सम्पूर्ण क्षति उपमहानगरले व्यहोर्नुपर्ने पनि उनको भनाइ छ । पसलमा ताला लगाउनुपूर्व उनीहरुले ‘उपमेयर मूर्दावाद’ लगायतका नारा लगाएका थिए ।

यता, इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले भने जनताको जीवनसँग खेलवाड गर्ने अधिकार औष्धि व्यवसायीलाई नभएको भन्दै सरकारी अनुगमन टोलीले कैफियत देखिएका औषधि पसलमा रितपूर्वक ताला लगाएको जानकारी दिइन् । औषधि व्यवसायीहरु गल्ति सच्याएर नियमसम्मत रुपमा व्यवसाय सञ्चालन गर्न सहमत भएपछि पसलको ताला उपमहानगरपालिकाले खोलिदिएको भएतापनि दोषी औषधि पसल तथा त्यसका सञ्चालकमाथि कारबाहीको प्रकृया जारी नै रहेको उपमेयर गौतमले प्रष्ट पारिन् ।

उपमहानगरपालिकाले सम्पूर्ण प्रकृया पूरा गरी दोषी व्यवसायीलाई कारबाहीको दायरामा ल्याइछोड्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् । औषधि व्यवसायीले पसल बन्द गरेका छन् नि भन्ने प्रदेश पोर्टलको प्रश्नमा उनले औषधि व्यवसायीले पसल बन्द गरेकोबारे आफूलाई जानकारी नभएको बताउँदै जनताको आधारभूत तथा संवेदनशील आवश्यकताको रुपमा रहेको औषधिको आपूर्तिमा व्यवसायीले अवरोध नगर्ने विश्वास व्यक्त गरिन् ।