धरानः सुनसरीको धरान–१५ स्थित अस्थायी प्रहरी चौकीमा हतियारसहित आक्रमण गरी प्रहरीलाई घाइते बनाई फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका तीनै जना अभियुक्तहरुलाई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले बताएको छ । जेष्ठ १३ गते साँझ हतियारधारी समूहको आक्रमणबाट चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल घाइते भएका थिए । अभियुक्तहरुलाई प्रहरीले धरानमै लुकिछिपी बसेको अवस्थामा सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
घटनामा संलग्न तीन जना अभियुक्त पक्राउ परेपनि अन्य अभियुक्त पक्राउ नपरेकाले पक्राउ परेका अभियुक्तहरुको परिचय गोप्य राखिएको प्रहरीको भनाइ छ । अन्य अभियुक्तहरुको खोजी प्रहरीले तिव्र पारेको छ । चौकीमा दुई युवा आफ्नो ज्यान जोगाउन भागेर आएको बेला हतियारधारी समूहले आक्रमण गरेको थियो । छुट्याउन खोज्दा चौकी इन्चार्ज दाहालसहित अन्य प्रहरी घाइते भएका थिए । प्रहरी प्रशासनमा यस्तो घटना हुनु निकै चासोको विषय बनेको छ । यस घटनाले सुरक्षा निकायमाथि नै प्रश्न चिन्ह खडा गरेको छ । सोही बेला प्रहरीले आत्मरक्षाको लागि गोली चलाउन सक्ने भएपनि नचलाएको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।