इटहरीः निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा सुनसरीको इटहरीका विभिन्न स्थानबाट प्रहरीले सात सय चार जनालाई पक्राउ गरेको छ ।

जेठ १७ गतेदेखि १९ गतेसम्म तीन दिनको अवधिमा सात सय चार जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीका सूचना अधिकारी प्रहरी निरीक्षक केशवकुमार कट्वालले जानकारी दिए । उनका अनुसार पक्राउ परेकामध्ये ६ सय ८१ जनालाई जनही एक सय रुपैयाँ जरिवाना गरी छोडिएको छ । निषेधाज्ञा उल्लङ्घनकर्ताहरुबाट प्रहरीले ६८ हजार एक सय रुपैयाँ जरिवाना असुल गरेको प्रनि कट्वालले जानकारी दिए ।

संक्रामक रोग ऐन २०२० को दफा ३ अनुसार जरिवाना असुल गरिएको उनले प्रष्ट पारे । निषेधाज्ञा उल्लङ्घनकै कसुरमा २३ जनालाई भने आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय इनरुवा पठाइएकोमा सो कार्यालयले जनही तीन हजारदेखि सात हजारसम्म जरिवाना गरेको प्रहरीले जनाएको छ ।