इटहरीः सुनसरीको इटहरीकी एक ९ वर्षीया शारीरिक तथा मानसिक अपाङ्गता भएकी बालिकालाई जबर्जस्ति करणी गरेको आरोपमा एक ६७ वर्षीय पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका ३ स्थित सुनौलो बस्ति घर भएका गाइने भनिने भागिराज दमाई रहेको इलाका प्रहरी कार्यालय इटहरीका सूचना अधिकारी प्रहरी निरीक्षक केशवकुमार कट्वालले जानकारी दिए । उनका अनुसार अभियुक्त दमाईले जेठ १८ गते अपराहन्न ४ः३० बजे पीडित बालिकाको कोठामै गएर करणी गर्दै गरेको अवस्थामा छिमेकीले फेला पारेका थिए । बालिकालाई जबर्जस्ति करणी गरी फरार भएका दमाईलाई स्थानीयको सूचनाका आधारमा प्रहरीले आज बिहान ८ः०० बजे इटहरी ३ स्थित धरधरे भन्ने स्थानमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रनि कट्वालको भनाइ छ ।
अभियुक्त दमाईलाई जिल्ला अदालत सुनसरीबाट जबर्जस्ति करणी मुद्दामा म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । बाबुको मृत्यु भई आमाले समेत दोस्रो विवाह गरेकोमा पीडित बालिका इटहरीस्थित फूपुको घरमा बस्दै आएको प्रहरीको भनाइ छ ।