इटहरीः एक वर्षभन्दा कम उमेर समुहका शिशुलाई खुवाइने ‘डि थ्रि’ नामक औषधि सुनसरीको इटहरीमा केरमेट गरेर बिक्री गरेको पाइएको छ ।

केही दिनअघि इटहरीमा एक व्यक्तिले सो औषधि आफ्नो शिशुलाई खुवाउँदा नकरात्मक असर देखिएको भन्दै उपमहानगरपालिकामा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा इटहरी उपमहानरपालकाले आज (बुधबार) इटहरीमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा इटहरीका अधिकांश औषधि पसलमा नै सो औषधिको उत्पादन मितिमा नयाँ स्टिकर टाँसेर नयाँ उत्पादन मिति राखेको पाइएको थियो । बालबालीकाका लागि आवश्यक सो औषधिमा केरेमेट भएको भन्दै उजुरी परेकाले आफूहरुले अनुगमन र तालाबन्दी गरेको इटहरी उपमहानगरपालिकाका कर शाखा प्रमुख नवीन भट्टराईले जानकारी दिएका छन् । ‘हामीलाई भिटामिन सनलाइट डि थ्रि नामक औषधिमा लेबलमा केरमेट भएको भनेर उजुरी परेको थियो । सोही आधारमा हामीले आज विभिन्न फार्मेसी र यसको सप्लायर्स पनि पत्ता लगाएर तालबन्दी गरेका छौँ’, शाखा प्रमुख भट्टराईले भने ।

image0

यसको थोक बिक्रेताकहाँ जानुअघि इटहरीका विभिन्न फार्मेसीमा अनुगमन गरिएको थियो । सबै फार्मेसीमा एकै प्रकारकै समस्या पाइएपछि अनुगमन टोली यसको थोक बिक्रेता ‘एरव मेडिकोस् एण्ड ट्रेडिङ’ मा पुगेको थियो । यसका सञ्चालक बासुकी सुमन झाले आफूले केही महिनाअगाडि नै यो औषधि बिक्री नगरेको बताएका थिए । तर, त्यहाँ अनुगमन गर्ने टोलीले एक साताअगाडि मात्र अर्थात् गत जेठ ७ गते अन्तिम पटक यसको कारोबार भएको भेटेपछि जवाफ मागेको थियो । त्यो बेला सञ्चालक झा नाजवाफ बने । त्यसपछि उनले सो औषधिमा भएको जालसाजी आफूले गरेको नभई उत्पादकले गरेको भन्दै पन्छने कोसिस गरेका थिए । तर, उनीसँग योबाट उम्कन कुनै ठोस प्रमाण नभेटेपछि उपमहानगरपलिकाले कार्यालयमा तालाबन्दी गरेको थियो । अब सञ्चालकलाई के कारबाही गर्ने विषयमा बिहीबार उपमहानगरपालिकाको कार्यालयमा बैठक बसेर ठोस निणर्य गर्ने शाखा प्रमुख भट्टराईले जानकारी दिएका छन् ।

image2