इटहरीः विभिन्न जिल्लामा लागु गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने दुई हजार पाँच सय ३१ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तीमध्ये ६ सय ६० वटा गाडी र एक हजार आठ सय ७१ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछपश्चात् छोडिएको प्रहरीले जनाएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने चार सय ३३ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ५३ हजार एक सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले बताएको छ ।
सो क्रममा तीन हजार एक सय ८५ जनालाई रोकी सम्झाई बुझाई छोडेको प्रहरीको भनाइ छ । निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिव्रता दिएको छ ।