इटहरीः मोरङको विराटनगर महानगरपालिकास्थित देवकोटा चौकमा सडक सुरक्षाका लागि परिचालित प्रहरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका छन् ।
गएराति ९ बजे कार्यालयबाट घर फर्कने क्रममा कोसी अस्पताल विराटनगरका अहेव अशोक राजवंशीमाथि प्रहरीले कुटपिट गरेको हो । स्वास्थ्यकर्मीको परिचयपत्र देखाउनुका बाबजुद प्रहरीले आफूलाई कुटपिट गरेको पीडित अहेब राजवंशीले जानकारी दिए । प्रहरी कुटाइबाट आफ्नो खुट्टा र घुँडामा चोट लागेको उनको भनाइ छ । अन्य प्रहरीले कुटपिट नगर्न गरेको आग्रहलाई बेवास्ता गर्दै केही प्रहरीले आफूमाथि कुटपिट गरेको उनले बताएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले दोषी प्रहरीलाई कारबाही गरिने आश्वासन दिएका छन् ।
यसैबीच, आफ्ना सहकर्मीमाथि प्रहरीबाट कुटपिट भएको भन्दै नेपाल चिकित्सक संघ कोसी अस्पताल एकाईले आज अस्पतालमा प्रदर्शन गरेको छ । अग्रपंक्तिमा रही सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मीमाथि प्रहरीबाट आक्रमण भएको भन्दै पेसागत सुरक्षाको प्रत्याभूति गरिनुपर्ने मागसहित संघले प्रदर्शन गरेको हो ।