इटहरीः आज जेठ १९ गते अर्थात् पूर्वराजा वीरेन्द्र शाहको वंशनाश भएको २० वर्ष पूरा भएको छ ।
२०५८ साल जेठ १९ गते शुक्रबार राति ९ बजे नारायणहिटि राजदरबारको बिलियार्ड हलमा भेला भएका तत्कालीन राजा वीरेन्द्र शाहसहित रानी ऐश्वर्य शाह, युवराज दीपेन्द्र शाह, (पाँच घण्टाका लागि राजा घोषित गरिएका), राजकुमार निराजन शाह, राजकुमारी श्रुति शाह, अधिराजकुमार धीरेन्द्र शाह, अधिराजकुमारी शान्ति, अधिराजकुमारी शारदा, कुमार खड्गविक्रमसहित १० जनाको रहस्यमय हत्या गरिएको थियो । सो घटनामा परी तत्कालीन अधिराजकुमारी कोमल शाह, अधिराजकुमारी शोभा, कुमार गोरख र केतकी चेस्टर घाइते भएका थिए । हत्याकाण्डलगत्तै तत्कालीन प्रतिनिधिसभाका सभामुख तारानाथ रानाभाट र तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायसहितको दुई सदस्यीय छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रले नै गोली चलाई सबै सदस्यको हत्या गरेको र आफूले पनि आफैँमाथि गोली चलाई आत्महत्या गरेको प्रतिवेदन दिएको थियो ।
यद्यपि, सो प्रतिवेदन स्वीकार गर्न नेपाली जनमानस तयार भएन । हालसम्म पनि दरबार हत्याकाण्डको निष्पक्ष छानबिनको माग भइरहेतापनि सो गर्नतर्फ कसैले चासो दिएको पाइँदैन । दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहको शासन २०६३ वैशाख ११ गते १९ दिन लामो दोस्रो जनआन्दोलनको बलमा अन्त्य भई नेपाल लोकतान्त्रिक शासनमा प्रवेश गरिसकेको छ । २०६५ जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र घोषणाका साथै २०७२ असोज ३ गते नेपालको संविधान २०७२ संविधानसभाद्वारा जारी भई संघीयतासमेत कार्यान्वयनमा आइसकेको छ ।