इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा हिजो साँझसम्म २९ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

इटहरी रङ्गशाला गरिएको एन्टिजेन परीक्षणबाट ६ जना र अन्य प्रयोगशालामा गरिएको परीक्षणबाट २३ जनामा संक्रमण देखिएको उपमहानगरपलिकाको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमितमध्ये हिजो दुई जनाले ज्यान गुमाएका छन् । इटहरी ४ की ५५ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र इटहरी ८ का ७० वर्षीय पुरुषको कोसी कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको हो । हिजो सात जनाको एन्टिजेन र ९६ जनाको पीसीआर विधिबाट परीक्षण सम्पन्न भएको उपमहानगरपालिकाको तथ्याङ्क छ । नयाँ भेरियन्ट सहितको महामारी सुरु भएयता इटहरीमा हालसम्म एक हजार आठ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको पाइएको छ ।

जसमध्ये आठ सय ५३ जना संक्रमितको १४ दिनको आइसोलेसन अवधि पूरा भएको छ । दोस्रो लहरयता इटहरीमा ज्यान गुमाउने संक्रमितको संख्या ३४ पुगेको छ । इटहरी रङ्गशालाबाट हालसम्म एक हजार तीन सय ७१ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ जसमध्ये सात सय १५ जना संक्रमित देखिएका छन् । १७ र १८ गते संकलित नमुनाको परीक्षण नतिजा भने आउन बाँकी रहेको छ । हालसम्म इटहरीमा नौ सय ५३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा तीन सय १० जना संक्रमित देखिएको उपमहानगरपालिकाले जनाएको छ ।