विवेकशील साझा पार्टीका सँस्थापक संयोजक तथा तत्कालीन तत्कालीन विवेकशील नेपाली दलका सँस्थापक अध्यक्ष उज्वल थापाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

कोरोना संक्रमण पुष्टि भई स्वास्थ्य अवस्था जटिल भएपछि दुई साताअघि काठमाडौँको मेडिसिटि अस्पताल भर्ना भएका थापाको भेन्टिलेटरमा उपचारका क्रममा आज अपराहन्न ४ः२५ बजे निधन भएको हो । थापाको उपचारका लागि रकम अभाव भई परिवारजनले सहयोगका लागि याचना गरेको २४ घण्टाभित्र उनको उपचारका लागि स्वदेश तथा विदेशबाट ५० लाख रुपैयाँ संकलन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । यद्यपि, थापालाई बचाउने चिकित्सकहरुको प्रयास सफल भने हुन सकेन ।

यसैबीच, आफ्नो पार्टीका सँस्थापक संयोजक थापाको निधन भएपछि विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकले एक विज्ञप्ति जारी गर्दै शोक प्रकट गरेको छ ।

विज्ञप्तिको पूर्ण पाठः
विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको आज भएको निधनले सिङ्गो पार्टीपंक्ति स्तब्ध भएको छ ।

दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४ः२५ बजे निधन भएको हो ।

विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्व संयोजक थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा हाम्रा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तिमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यहरूलाई आह्वान गरेको छ । साथै, यही बीचमा पार्टीमा “उज्वल थापाको जीवन र विचार“ विषयमा छलफल र बहस चलाउने छ ।

नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ । खासगरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उहाँको अहम् भूमिका छ ।

थापाले अङ्गाल्नु भएको सुसँस्कार, अहिंसा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडि बढ्ने छ ।

यो विषम् पीडाको क्षणमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै थापाको उपचारका क्रममा उहाँको स्वास्थ्य लाभ कामना गर्दै स्वदेश तथा विदेशबाट प्राप्त स्नेह, सद्भाव र सहयोगका लागि विवेकशील साझा पार्टी सबैमा हार्दिक आभार व्यक्त गर्दछ ।

रवीन्द्र मिश्र, अध्यक्ष
मिलन पाण्डे, संयोजक
विवेकशील साझा पार्टी
मितिः १८ जेठ २०७८