इटहरीः मोरङको रतुवामाई नगरपालिका २ स्थित यादव टोलमा आज बिहान एक पुरुषको शव फेला परेको छ ।

नेपाल भारत सीमाको दशगजाबाट एक सय ५० मिटर उत्तरतर्फ नेपाली भूमिमा फेला परेको शव अन्दाजी २५ ३० वर्षीय पुरुषको रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईका अनुसार घोप्टो परेको अवस्थामा फेला परेको शवको पहिचान हुन सकेको छैन । मृतक पुरुष नेपालका हुन् वा भारतका हुन् भन्नेबारे पनि कुनै जानकारी प्राप्त हुन नसकेको प्रवक्ता राईले बताए ।

उनका अनुसार मृतक पुरुषको हत्या भएको वा निजले आत्महत्या गरेकोबारे पनि केही प्रष्ट भइसकेको छैन । स्थानीयवासीले शव फेला परेको जानकारी दिएपछि घटनास्थलमा परिचालित प्रहरीले शवको पहिचान खुलाउने प्रयास गरिरहेको र घटनाबारे विस्तृत अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।