धरानः हङकङ नेपाली महासंघले दातृ संस्था ‘सोएर्स एक्सन’ सँगको सहकार्यमा तत्काल २ सय वटा अक्सिजन कन्सेन्ट्रेटर नेपाललाई सहयोग स्वरुप पठाएको छ ।

हेल्प नेपाल फाइट अगेन्स्ट कोभिड–१९ क्याम्पेन’ आयोजना गरेर हङकङमा बस्ने नेपालीहरुले सहयोग गरेका हुन् । अक्सिजनको अभावमा कयौं बिरामीहरुले अकालमै ज्यान गुमाइरहेको अवस्थालाई मध्यनजर गर्दै हङकङ पोलिस फोर्सको विशेष समन्वयमा पहिलो फेजको रुपमा हङकङकै दातृ सँस्था ‘सोएर्स एक्सन’ बाट प्राप्त हुने दश लिटर क्षमता रहेको २ सय वटा अक्सिजन कन्सेन्ट्रेटर तत्काल एयर कार्गोमार्फत् नेपाल पठाएको अभियानकी संयोजक रिता गुरुङले बताइन् । नेपालमा कोभिड १९ को दोस्रो लहरले महामारीको रुप लिएपछि हङकङका नेपाली महावाणिज्य दुतसँगको सहकार्यमा देशको ७७ वटै जिल्लाको सरकारी अस्पतालहरुमा वितरण गर्न लागिएको हङकङ नेपाली महासंघका पूर्वअध्यक्ष प्रदीप थापाले बताए ।

उनले यी सम्पूर्ण कामहरुमा सहजीकरण गर्नमा अभियानकी संयोजक रिता गुरुङको महत्वपूर्ण भूमिका रहेको बताए । त्यस्तै गरी दोस्रो चरणमा महावाणिज्य दुतावासमार्फत् नेपाल सरकारबाट माग भई आएका अन्य स्वास्थ्य सामग्रीहरु नेपाल पठाउनका लागि महासंघले ‘सोएर्स एक्सन’ सँग सहकार्य गर्ने भएको छ । अभियानमा विशेष ‘च्यारिटी वाक’ गरेर सहयोग गर्न साथै हङकङका संघसंस्था, समाजसेवी, व्यापारीलगायत हङकङमा बस्ने नेपालीहरुलाई महासंघका अध्यक्ष टंक रानाले पत्रकार सम्मेलन गर्दै आर्थिक सहयोगको प्रस्ताव राखेका थिए ।

IMG_20210601_072232 FB_IMG_16225133280779339