इटहरीः गत जेठ ४ गते अन्नपूर्ण पोस्ट दैनिकका पत्रकार रत्न आचार्यले सोही दैनिकमा लेखेको ‘सर्दु जलाधारको १८२ बिघा जग्गा फिर्ता’ शीर्षकको समाचारप्रति नेकपा माओवादी केन्द्रको धरान उपमहानगर कमिटिले आपत्ति जनाएको छ ।
कमिटिले आज एक विज्ञप्ति जारी गर्दै समाचारप्रति आफूहरुको ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा जग्गा फिर्ताको विषय कार्यान्वयनमा नपुगेको बताइएको छ । समाचारमा आफ्ना पार्टीसम्बद्ध नेताहरु सुरेशकुमार राई, मुक्सामहाङ मेन्याङ्बो र फोक्वाहाङ सुब्बामाथि भूमाफियामार्फत् जग्गासहित मोटो रकम लिएको आरोप लगाइएकोप्रति विज्ञप्तिमा आपत्ति प्रकट गरिएको छ । पत्रकार आचार्यमाथि भ्रामक समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारका असन्तुलित कपोकल्पित समाचारको भ्रममा नपर्न पनि पार्टी पंक्तिसहित सबै सरोकारवालासँग हार्दिक अपिल गर्दछौँ । तर बिनाप्रमाण कसैको भनाइ सापटी लिएर वा कल्पनाको कलम दौडाएर मानमर्दन गर्नु उपयुक्त नभएको ठहर पार्टीको रहेको छ ।’
सर्दु जलाधारको जग्गा फिर्ता गरिएको विषयसमेत उल्लेख गरी प्रकाशित समाचारका विरुद्ध यसअघि नेपाली कांग्रेस धरान र सो पार्टीका विभिन्न भ्रातृ संगठनहरुले पनि पत्रकार आचार्यमाथि लक्षित गरी धम्कीपूर्ण विज्ञप्ति प्रकाशन गरेको थियो । विज्ञप्ति प्रकाशन गरेलगत्तै पत्रकार महासंघ सुनसरीसहित विभिन्न पत्रकार संगठनहरुले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी धम्कीपूर्ण विज्ञप्तिप्रति आपत्ति जनाएका थिए । समाचारमा चित्त नबुझे खण्डन छाप्न सकिने सर्वमान्य प्रचलन रहेको तथा सोबाट पनि समाधान नभए कानूनी उपचारको मार्गसमेत प्रशस्त रहेको अवस्थामा धम्कीपूर्ण र अमर्यादित विज्ञप्ति प्रकाशित गरी राजनीतिक पार्टीले प्रेस स्वतन्त्रतामाथि प्रहार गरेको पत्रकार संगठनहरुले ठहर गरेको थियो । व्यक्तिमाथि लागेको आरोपका विषयमा निरन्तर रुपमा राजनीतिक दलहरुले आफ्ना नेतामाथि आरोप लगाइएको भन्दै विज्ञप्ति जारी गर्ने सिलसिलालाई आश्चर्यका साथ हेरिएको छ ।