इटहरीः मोरङको विराटनगर महानगरपालिका ९ स्थित अस्पताल चौकमा सञ्चालित दुई ओटा फार्मेसीमा औषधि व्यवस्था विभागले ताला लगाएको छ ।
एउटा व्यक्तिको लाइसेन्स देखाएर अर्कै व्यक्तिले फार्मेसी सञ्चालन गरेको पाइएपछि टाइम्स फर्मा र रियाङ्सि मेडिकोमा ताला लगाइएको औषधि व्यवस्था विभाग विराटनगर कार्यालयका निमित्त प्रमुख सञ्जीव कट्टेलले जानकारी दिए । उनका अनुसार बोर्डसमेत नराखी सञ्चालन गरिएको अर्को एउटा फार्मेसीका सञ्चालक शंकर यादव भने फरार भएका छन् । उनले विराटनगरकै कञ्चनबारीस्थित हेल्थ केयर फार्मेसीको बिल प्रयोग गरी औषधि बिक्री गरिरहेको निमित्त प्रमुख कट्टेलको भनाइ छ ।
यसैगरी टाइम्स फार्मेसीसँगै रहेको जिग्री फार्मेसीबाट दर्ता नगरिएको सेनिटाइजर बरामद गरिएको उनले बताए । कैफियत देखिएका सबै फार्मेसी सञ्चालकलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको बताउँदै औषधि व्यवस्था विभागले फार्मेसीले औषधिको मूल्य बढी लिएर बिक्री गरेको पाइएको जनाएको छ ।