इटहरीः मोरङको उर्लाबारी नगरपालिका २ घर भएका बाबु र छोराको पाँच दिनको अन्तरमा कोरोना संक्रमणका कारण निधन भएको छ । ज्यान गुमाउनेमा उर्लाबारी गाउँ विकास समितिका पूर्वउपाध्यक्ष कुमार धिमाल र उनका छोरा तेजबहादुर धिमाल रहेका छन् ।

कोभिड संक्रमणपछि उपचारार्थ झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा भर्ना भएका पूर्वउपाध्यक्ष धिमालको जेठ १२ गते निधन भएकोमा उनका छोराको पनि सोही अस्पतालमा आज निधन भएको हो । छोरालाई संक्रमण पुष्टि भई अस्पताल भर्ना गरिएसँगै सोको एक सातापछि बाबुमा पनि सोही लक्षण देखिएपछि उनलाई पनि उपचारार्थ सोही अस्पतालमा भर्ना गरिएकोमा पाँच दिनको अन्तरमा दुवै जनाको निधन भएको हो । पूर्वगाविस उपाध्यक्ष धिमाल २०५४ देखि २०५८ सम्म गाविस अध्यक्षका रुपमा काम गरेका व्यक्ति हुन् ।

उनका छोरा भने खाद्यान्न व्यवसायमा संलग्न रहेको धिमाल जाति विकास केन्द्रका महासचिव मात्रिका धिमालले जानकारी दिए । उनका अनुसार मृतकको दाहसँस्कार धिमाल सँस्कृति अनुसार गरिने भएको छ । स्थानीय सालबारी वन क्षेत्रमा पूर्वगाविस उपाध्यक्षको दाहसँस्कार गरिएको बताउँदै उनले उनका छोराको दाहसँस्कार पनि सोही स्थानमा गर्ने तयारी गरिएको उल्लेख गरे । यसका साथै उर्लाबारीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।