इटहरीः लकडाउन कार्यान्वयनका लागि परिचालित प्रहरीले पसलमा राखिएको मदिरा चोरी गरेपछि चोरीमा संलग्न तीन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय सिरहाले निलम्बन गरेको छ ।
निलम्बनमा पर्नेहरुमा इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नकुमार राय र नरेशकुमार राय रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) शालीग्राम शर्माले जानकारी दिए । उनका अनुसार निलम्बित प्रहरी कर्मचारीमाथि जेठ ९ गते लहानको गढिया चौक क्षेत्रमा निषेधाज्ञा कार्यान्वयनका लागि परिचालित भई पसल सञ्चालक भागेको मौका छोपी पसलबाट मदिरा चोरी गरेको आरोप छ । प्रहरीले मदिरा चोरी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि संलग्न अभियुक्तलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।