इटहरीः मोरङको विराटनगर महानगरपालिका १५ रानीबाट औषधि कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थान घर भई जनता मेडिकल स्टोर सञचालन गर्ने ३५ वर्षीय रविकुमार रजक रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईका अनुसार हिजो आइतबार दिउँसो १ः३० बजे जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा रजकको घरको कोठाबाट फिजिसियन स्याम्पलका औषधिहरु, मुटुसम्बन्धी रोगका औषधिहरु, पेनकिलर, एन्टिबायोटिक, इन्जेक्सन, बच्चाको कफसम्बन्धी औषधिहरु र सेनिटाइजरलगायत ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेबलिङ गरिएका औषधिका खोलहरु बरामद गरेको हो ।

अभियुक्त रजकले औषधिहरु भण्डारण गर्ने र कालोबजारी गरी झुक्याई बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेसँगै कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।