इटहरीः सुनसरीको कोशी गाउँपालिका ८ भाण्टाबारीस्थित पूर्व पश्चिम राजमार्गबाट १ सय ६५ केजी प्रतिबन्धित लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय गणेश यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आज बिहान २ः४५ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र सीमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले राजमार्गको दक्षिण पानीटंकी नजिक प्लाष्टिकले बेरिएको अवस्थामा ६ बोरा तयारी लागूऔषध गाँजासहित यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए ।

पक्राउ परेका यादवउपर लागूऔषध नियन्त्रण ऐन २०३३ वमोजिम मुद्दा चलाउनका लागि जिल्ला अदालत सुनसरीको आदेशमा उनलाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।