इटहरीः प्रदेश १ मा आज एक हजार पाँच जना कोरोना सङ्क्रमित थपिएका छन् । आज दुई हजार पाँच सय तीन जनाको परीक्षण गर्दा चार सय ५१ महिला र पाँच सय ५४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीमा एक सय ६३, झापामा तीन सय ६२, मोरङमा पाँच सय ५१, पाँचथरमा ३७, ताप्लेजुङमा ३२, इलाममा १२, उदयपुरमा ६, धनकुटामा पाँच, सङ्खुवासभा, तेह्रथुम, भोजपुर र खोटाङमा एक र प्रदेश १ बाहिरका ३३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५७ हजार तीन सय ८२ पुगेको छ । जसमध्ये ३५ हजार पाँच सय ७२ जना सङ्क्रमणमुक्त भएका छन् । आइतबार थप ३९ जना सङ्क्रमणमुक्त भएका छन् । प्रदेश १ मा सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार नौ सय ३५ पुगेको छ ।