इटहरीः इजरायलमा रहेका तेह्रथुमेहरुले जिल्ला अस्पताल तेह्रथुमलाई एक लाख रुपैयाँ बराबरका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
वैदेशिक रोजगारीको लागि इजरायलमा रहेका देव बास्कोटाको अगुवाइमा तेह्रथुममा जन्मिएर इजरायलमा रहेका भएका १२ जना युवाहरु देव बास्कोटा, प्रवीण आङबुङ, कमला सेनेहाङ, लता आङबुङ, तुलसा सुब्बा तुम्बाहाङ्फे, दुर्गा चोङवाङ, प्रतिमा आङबुङ लिम्बू, जीवन बुढाथोकी जेम्स सेनेहाङ, गीता तुम्बाहाङ्फे र नयन इम्सोङले १ लाख रुपैयाँ संकलन गरेर आधा दर्जनबढी सामग्री हस्तान्तरण गरेका हुन् ।
जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष शिवप्रसाद ढुंगानाले सामग्री बुझ्दै इजरायलमा रहेका तेह्रथुमे युवाहरुलाई कोरोना महामारीको अवस्थामा सहयोग गरेकोमा धन्यवाद दिएका छन् । दाताहरुले पिपिई किट ६ सेट, पल्स अक्सीमिटर १० सेट, अक्सीजन माक्स १० सेट, फेस सिल्ड ५० सेट, स्क्रप केमिकल पाँच जार, अक्सीजन रेगुलेटर पाँच पिस, सेनिटाइजर १५ लिटर, माक्स र मास्क दुई सय ५० पिस गरी १ लाख रुपैयाँको स्वास्थ्य सामग्री अस्पतालले बुझेको अस्पतालका डाक्टर अनुपम घिमिरेले बताए ।