काठमाडौँः नेपालमा बढेको कोभिड संक्रमण महामारीलाई रोक्न सहयोग गर्न थाइल्याण्ड सरकारले नेपाललाई ३० युनिट हाइफ्लो नोजल क्यानोला, ८ युनिट अक्सिजन कन्सन्ट्रेटर सहित १० किसिमका सामग्री सहयोग गरेको छ ।
थाइल्याण्डका नरेश महा बजिरालोङकन फ्रा बजिराक्लउछायुहबाटले उपलब्ध गराएका ती सामग्री आज आइतबार शाही थाई एयर फोर्सको चार्टर विमानमा नेपाल आइपुगेको थियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वाथ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विषम परिस्थितिमा नेपालको लागि थाई राजपरिवारले गरेको सहयोग महत्वपूर्ण रहेको बताए । उनले भने –‘थाई नरेश प्रति नेपाल सरकारले धन्यवाद दिन चाहन्छु ।’ साथै उनले नेपाललाई आपत पर्दा अन्तर्राष्ट्रिय समुदायले निरन्तर सहयोग जारी राखेको बताए । ती सामग्री थाइल्याण्डका राजदुत भोसिता भोरासावले स्वाथ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरका थिए । मन्त्री त्रिपाठीले थाई सरकारले गरेको महत्वपूर्ण सहयोगप्रति नेपाल सरकारले थाई नरेश र जनतालाई धन्यवाद दिन चाहेको बताए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजनमा नेपाल भित्रिएका ती सामग्री विभिन्न अस्पताललाई हस्तान्तरण गरिनेछ । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठले आफ्नै विमान चार्टर गरी कोभिड नियन्त्रण गर्न नेपालमा स्वाथ्य सामग्री उपलब्ध गराएकोमा थाई नरेशप्रति आभार व्यक्त गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले थाई राजदूतावासमार्फत् थाई नरेशलाई पत्र पठाएर ती सामग्री नेपाल आइपुगेको हो । सोही पत्रको आधार र स्वाथ्य तथा जनसंख्या मन्त्रालयले सूचित गरेपछि सोही आधारमा थाइल्याण्ड सरकारले स्वाथ्य सामग्री उपलब्ध गराएको हो । मन्त्री श्रेष्ठले नेपाल र थाईल्याण्डबीचको सुमधुर सम्बन्धका कारण कोभिड नियन्त्रणको लागि महत्वपुर्ण सामग्री नेपाल आइपुगेको जानकारी दिए । नरेश महा बजिरालोङकन फ्रा बजिराक्लउछायुहबाट थाई रोयल एडको रुपमा ती स्वास्थ्य सामग्रीहरु नेपाल सरकारलाई सहयोग गरिएको हो । नेपाललाई थाई राजदरबारबाट सहयोग जुटाउन थाइल्याण्डको भिक्षु संघमा प्रतिष्ठित नेपाली मूलका भिक्षु थाई राजकीय बिहारबाट बोभर्नका उपप्रमुख भिक्षु फ्रा देव शाक्य वंशपण्डित अर्थात प्राडा. अनिल शाक्यसँग शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसँगको समन्वयमा भएको पहलमा उक्त सहयोग जुट्न संभव भएको हो ।
नेपाली राजदूतावासमार्पmत् थाई नरेशलाई पत्र प्राप्त भएपछि थाई नरेशले नेपाललाई सहयोग गर्न निर्देशन जारी भएको थियो । सोही आधारमा थाई सरकारले १० लाख थान सर्जिकल मास्क, ४ हजार ५ सय पीपीई गाउन,१० हजार जोडी लेग कभर,१० हजार थान सर्जिकल क्याप,५ हजार थान फेस सिल,२० हजार थान एन्टिजेन किट, ६ सय थान पल्स अक्सिमिटर,१ हजार ५ सय थान डिजिटल थर्मामिटर, १ हजार थान बडी ब्याग सहयोग सामग्री नेपाल सरकारलाई उपलब्ध गराएको छ । ती सामग्रीबाहेक थाई राजकुमारीले ७ हजार थान पीपीई गाउन उपलब्ध गराएकी छन् ।