धरानः पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणदर बढ्दै गएको अवस्थामा सुनसरीको धरान उपमहानगरपालिकाले आफैँ खोप खरिद गर्न अनुमति मागेको छ ।
संघीय तथा प्रदेश सरकारले पर्याप्त मात्रामा खोप उपलब्ध गराउन नसकेको भन्दै मेयर तिलक राईले आफँै खोप खरिद गर्ने स्वीकृति प्रदान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेका हुन् । उक्त पत्रको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबार, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र सामाजिक विकास मन्त्रालय १ नं. प्रदेश विराटनगरमा बोधार्थ पठाइएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप नै प्रभावकारी देखिएको भन्दै मेयर राईले १८ वर्ष माथिका एक लाख नागरिकलाई उपमहानगरपालिकाको आफ्नै श्रोतबाट खोप लगाउने योजना बनाएको पत्रमा उल्लेख गरेका छन् । एक लाख नागरिकको पहिलो र दोश्रो मात्राको खोप लगाउनको लागि दुई लाख डोज खोप धरानमा आवश्यक पर्ने भएको भन्दै मेयर राईले स्वीकृति प्रदान गर्न माग गरेका छन् । उनले धरानवासी स्वस्थ भए मात्र नगर विकासको कार्य अगाडि बढ्ने बताएका छन् ।
हालसम्म धरानमा कोरोना महामारीको दोस्रो लहरयता एक हजार ६ सय ८६ जनामा संक्रमण देखिएको छ । तीमध्ये सक्रिय सक्रमितको संख्या पाँच सय ७० रहेको छ । त्यस्तै ३८ जनाले ज्यान गुमाइसकेका छन् ।