धरानः धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा धरान १९ स्थित हरियाली सामुदायिक वनको भवनमा अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ ।

कोभिड संक्रमितका लागि २५ बेडको क्षमता रहेको आइसोलेसन सेन्टर जेठ १ गतेबाट सञ्चालनमा आएको हो । हाल उक्त आइसोलेसन सेन्टरमा ७ जना कोभिड संक्रमित बिरामी बसिरहेका छन् । धरान उपमहानगरपलिकाका मेयर तिलक राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनाल, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राई र सोही वडाका वडाध्यक्ष पूर्ण लिम्बू सहितको टोलीले आज (आईतबार) आइसोलेसन सेन्टरको निरीक्षण गरेको छ ।

191485604_10216026010243215_5333680416880347879_n

निरीक्षणका क्रममा मेयर राईले आइसोलेसनमा बसेका कोभिड संक्रमितहरुको अवस्था र व्यवस्थापनको बारेमा जानकारी लिएका थिए । पत्रकार महासंघका अध्यक्ष राईले धरान उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको आईसोेलेसन सेन्टरमा पत्रकार महासंघको पनि सहकार्य रहेको बताए । उनले कोभिड संक्रमित भएका सुनसरी भरिका पत्रकारहरुका लागि आइसोलेसनमा बस्न आवश्यक रहेको खण्डमा हरियालीमा राख्न सकिने बताए ।

उक्त अक्सिजन सहितको आइसोलेसन सेन्टरमा धरान उपमहानगरपालिकाले दुई जना स्वास्थ्यकर्मी खटाएको छ । आइसोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको स्वास्थ्यकर्मी दीपकला राईले जानकारी दिइन् । खानाको व्यवस्थापन धरान उपमहानगरपालिकाले गरिरहेको छ । आइसोलेसन सेन्टरमा बसेका संक्रमितहरुका लागि खेलकुदका सामग्रीहरु पनि व्यवस्थापन गरिएको जनाइएको छ ।