इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा कोरोना भाइरसको महामारी तिव्र रुपमा फैलँदै गएको छ । यो भाइरसबाट संक्रमितहरुको उपचारको यथोचित व्यवस्थापन स्थानीय सरकारले गर्न सकेको छैन ।
संक्रमण पुष्टि भएका बिरामीहरु अस्पतालमा नबसी होम आइसोलेसनमा बस्दा घरमै स्वास्थ्य अवस्था जटिल भई मृत्यु वरण गर्नुपरिरहेको अवस्था छ । महामारीको यो अवस्थाबाट नागरिकलाई बचाउन सरकारले संक्रमण पुष्टि भएका र निको भइसकेका दुवैथरी संक्रमितको आधारभूत स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउनुपर्ने आवाज उठ्न थालेको छ । नागरिक समाज इटहरीका उपाध्यक्ष राजु केसीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै स्थानीय सरकारले निको भइसकेका कोरोना संक्रमितको एक्स रे गर्ने व्यवस्था मिलाउन स्थानीय सरकारलाई सुझाव दिएका छन् । संक्रमण पुष्टि भएको १४ दिनपछि स्वास्थ्य अवस्था सामान्य रहेमा बिनापरीक्षण संक्रमण निको भएको मान्ने सरकारी नीतिका कारण मानिसले अकालमा ज्यान गुमाउनु परिरहेको उनको तर्क छ । कोरोना भाइरसले मुख्य रुपमा मानिसको फोक्सो र छातिमा असर पुर्याइरहेकाले सरकारले संक्रमित र संक्रमणमुक्त भएकाहरुको छातिको एक्स रे र सीटी स्क्यान गर्ने प्रबन्ध तत्काल मिलाउनुपर्नेमा केसीको जोड छ । संक्रमणमुक्त भएकाहरुका लागि पोस्ट कोभिड परामर्श केन्द्र सञ्चालन गर्न पनि उनले सुझाएका छन् । इटहरी अस्पतालमा रहेको एक्स रे मेसिन कोभिड संक्रमितको एक्स रे गर्नका लागि सञ्चालन गर्न वा इटहरी क्षेत्रमा सञ्चालित वैदेशिक रोजगार केन्द्र (म्यानपावर एजेन्सी) मा स्वास्थ्य परीक्षणका लागि राखिएका एक्स रे मेसिनहरु निजी क्षेत्रसँग सहकार्य गरी कोभिड संक्रमितको एक्स रे गर्ने कार्यमा प्रयोग गर्न सकिने विकल्प पनि केसीले अघि सारेका छन् ।
यसबारे इटहरी अस्पतालका इमर्जेन्सी विभाग प्रमुख रामकुमार धमलासँग जिज्ञासा राख्दा उनले अस्पतालले पोस्ट कोभिड ओपीडी सञ्चालनका लागि तयारी सुरु गरेको जानकारी दिए । उनका अनुसार अस्पतालले सम्बन्धित बिरामीबाट न्यूनतम शुल्क लिएर एक्स रे सेवासमेत दिने तयारी गरेको छ । सीटी स्क्यान सेवा भने आफूहरुसँग उपलब्ध नभएकाले सो उपलब्ध गराउन नसक्ने उनको भनाइ छ । अन्य बिरामीको उपचारसमेत यथावत राख्न स्वास्थ्य मन्त्रालयले परिपत्र गरेको उल्लेख गर्दै विभाग प्रमुख धमलाले अस्पतालमा ठाउँ अपर्याप्त रहेकाले अर्को स्थान तोकी पोस्ट कोभिड ओपीडी सञ्चालन गरिने बताए ।
कोरोना संक्रमणको गम्भीर लक्षण देखिएका बिरामीले के कस्ता सावधानी अपनाउने भन्ने प्रदेश पोर्टलको प्रश्नमा विभाग प्रमुख धमलाले स्वास्थ्यकर्मीसँग टेलिफोन सम्पर्क गरी परामर्श लिन सकिने सुझाव दिए । समस्या जटिल भए स्वास्थ्यकर्मीकहाँ पुगेर परीक्षण गराउनुपर्ने उनले उल्लेख गरे । गम्भीर बिरामीले अक्सिजनको स्तर मापन गर्ने उपकरण (अक्सिमिटर) साथै राखी पटक पटक अक्सिजनको स्तर मापन गर्ने र अक्सिजनस्तर ९३ भन्दा कम देखिए तुरुन्त चिकित्सकको सल्लाह लिने वा अस्पताल जानुपर्ने बताए । दम, मधुमेह, हृदयरोगजस्ता दीर्घकालीन रोगबाट ग्रस्त संक्रमितले अनिवार्य चिकित्सकको परामर्शमा औषधि सेवन गर्नुपर्ने उनको भनाइ छ । अनुमानका भरमा जथाभावी औषधिको प्रयोग र अक्सिजन सिलिन्डर घरमै राखी आफूखुसी प्रयोग गर्न नहुने उनले बताए । अक्सिजन चिकित्सकको निगरानीमा मात्र चलाउनुपर्ने भन्दै उनले आफूखुसी अक्सिजन प्रयोग गर्दा बिरामीको ज्यानै जानसक्ने हुँदा सचेत हुन आग्रह गरे ।
संक्रमितको स्वास्थ्य परीक्षणका लागि सरकारी तयारीबारे जानकारी लिन प्रदेश पोर्टलले इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमलाई सम्पर्क गर्दा उनले संक्रमण निको भइसकेका बिरामीलाई एक्स रे सेवा दिन सकिने जानकारी दिइन् । यसका लागि सरोकारवालासँग छलफल जारी रहेको उनको भनाइ थियो । सक्रिय संक्रमितलाई भने तत्काल एक्स रे सेवा दिन नसकिने उनले प्रष्ट पारिन् । आफूहरुसँग पर्याप्त संख्यामा एक्स रे मेसिन उपलब्ध नभएकाले सक्रिय संक्रमितको एक्स रे गर्न सक्ने अवस्था नरहेको उनको जिकीर थियो ।
इटहरीमा सप्तकोसी एफएमका प्रबन्ध निर्देशक चन्द्रप्रसाद न्यौपाने, नेपाल वितरक एसोसियसनका केन्द्रीय सदस्य हरिकान्त कर्ण, संगीतकार राम धामीजस्ता मानिसको कोरोना संक्रमण निको भएपछि स्वास्थ्य अवस्था जटिल भई निधन भएको छ भने हिजो इटहरी २० का एक पुरुष र आज इटहरी ४ की एक ३१ वर्षीया संक्रमित महिलाले होम आइसोलेसनमै मृत्यु वरण गरेका छन् ।