इटहरीः मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालले अक्सिजन आपूर्ति सहज बनाउन प्रदेश सरकार जिल्ला प्रशासन कार्यालय, नागरिक समाजका साथै सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराएको छ ।
हाल अस्पतालमा दैनिक कम्तिमा ६ सय सिलिन्डर अक्सिजनको माग रहेकोमा चार सयदेखि चार सय ५० सिलिन्डर मात्र आपूर्ति भइरहेको बताउँदै अस्पतालले अक्सिजनको आपूर्तिमा ढिलाइ भए बिरामीको अवस्था जटिल हुन गई भयावह स्थिति उत्पन्न हुनसक्ने उल्लेख गरेको छ । अस्पतालका प्रशासन प्रमुख सन्तोष निरौलाद्वारा जारी विज्ञप्तिमा अक्सिजन उद्योगबाट अक्सिजन आपूर्ति गर्न एक दुई घण्टा मात्र ढिलाइ भएपनि धेरै बिरामीको ज्यान जानसक्ने बताइएको छ ।
अक्सिजन अभावकै कारण अस्पतालमा हालसम्म कुनै बिरामीको ज्यान नगएको समेत अस्पतालले प्रष्ट पारेको छ । अस्पतालका कोभिड उपचार केन्द्र प्रमुख सुनिल देवले अक्सिजन अभावका कारण नयाँ बिरामी भर्ना लिन समस्या भएको जानकारी दिए । अस्पतालले कोरोना संक्रमितको उपचारका लागि तीन सय शैया छुट्याएको उनको भनाइ छ ।