लन्डनः बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ’गुपचुप’ विवाह गरेका छन् ।

ब्रिटिस अखबारहरूले जनाएअनुसार ५६ वर्षीय प्रधानमन्त्री जोन्सनले शनिबार एकदमै थोरै मानिसहरूलाई बोलाएर ३३ वर्षीया प्रेमिका क्यारी सिमोन्ड्ससँग लगनगाँठो कसेका हुन् । वेस्टमिनस्टर क्याथेड्रलमा ३० जना मानिसहरूलाई बोलाएर जोन्सनको विवाह भएको समाचारमा उल्लेख गरिएको छ ।  बेलायतमा कोरोना महामारी नियन्त्रणका लागि जारी भएको मापदण्डमा विवाहमा ३० जना मानिस मात्र सहभागी हुन पाइन्छ । जोन्सनको विवाहका बारे प्रधानमन्त्री कार्यालयकै धेरै मानिसलाई थाहा दिइएको थिएन ।

विवाह समारोहमा सहभागीहरूले सामाजिक सञ्जालमा नयाँ दम्पतीलाई शुभकामना दिएपछि जोन्सनले विवाह गरेको खुलेको हो । जोन्सन र सिमोन्ड्स सन् २०१८ देखि रोमान्टिक सम्बन्धमा थिए। उनीहरूले आफ्नो सम्बन्धबारे सन् २०२० मा मात्रै खुलाएका थिए । गत वर्षको अप्रिलमा सिमोन्ड्सले छोरालाई जन्म दिएकी थिइन् । जोन्सनले यसअघि गरेका दुइटा विवाह डिभोर्समा टुंगिएका थिए । -एजेन्सी