इटहरीः पछिल्लो समय सामाजिक सञ्जालले मानिसहरुमा नकरात्मक प्रभावका साथै समाजमा विकृति फैलाएको भन्दै सर्वत्र आवाज उठ्ने गरेको छ ।
तर, यसको सही सदुपयोग गर्न सकेमा समाजमा सकरात्मक प्रभाव पर्न सक्छ भन्ने गतिलो उदाहरण बनेको छ फेसबुक ग्रुप इटहरी रकर्स । केही समयअघि माया घर नेपाल इटहरीलाई आवश्यक खाद्यान्न सहयोग गरेको इटहरी रकर्सले शनिबार इटहरीमा विपन्न परिवारलाई राहत वितरण गरेको छ । इटहरीका एक सय ५० अतिविपन्न परिवारलाई राहत पुर्याउने उद्देश्यका साथ यो अभियान थालिएको अभियानकर्मी रोशन सिग्देलले जानकारी दिए । इटहरी रकर्सले विदेशमा रहेका नेपालीहबाट आएको रकमबाट इटहरीमा निषेधाज्ञाका कारण चुल्हो बल्न छोडेका परिवारमा राहत पुर्याउन थालेको उनले जानकारी दिए ।
शनिबार इटहरी रकर्सले इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको चौधरी टोलका अतिविपन्न ५० घरलाई राहत वितरण गरेको छ । प्रति परिवार पाँच किलोग्राम चामल, एक किलोग्राम दाल, आधा लिटर तेल, एक किलोग्राम आलु र एक किलोग्राम आयो नुन वितरण गरिएको सिग्देलले जानकारी दिएको छ । राहत वितरणमा कोरोना महामारीका लागि सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेको युनेश ढकालले जानकारी दिए । उनका अनुसार राहत लिन आउनेलाई सुरुमा साबुन पानीले हात धुन लगाइएको छ । त्यसपछि स्यानिटाइजर प्रयोग गर्न लागएर मात्रै राहत वितरण गरिएको दाहालले बताए । यस्तै राहत वितरणमा सामाजिक दूरी कायम गर्नुको साथै हातैमा सामान दिनेभन्दा पनि एक ठाउँमा राखेर क्रमैसंँग लिन लगाइएको उनले जानकारी दिए । राहत वितरणको लागि सुजन थापाले विशेष सहयोग गरेका थिए ।