इटहरीः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवस २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका हुन् । उनले गणतन्त्र प्राप्तिको आन्दोलनमा ज्यान गुमाएका शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण बेपत्ता योद्धाहरुप्रति उच्च सम्मानसमेत व्यक्त गरेका छन् । साथै सम्पूर्ण घाइते तथा अपाङ्गता भएका योद्धाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै गणतन्त्रको आन्दोलनमा आ–आफ्नो ठाउँबाट सहयोग र सद्भाव व्यक्त गर्ने सम्पूर्ण नेपालीमा हार्दिक आभारसमेत व्यक्त गरेका छन् । सामन्ति,निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको भन्दै मुख्यमन्त्री राईले आफ्नो सन्देशमा लेखेका छन्, ‘हामी निर्वाचित जनप्रतिनिधिमूलक संस्थाहरू गणतान्त्रिक मूल्य मान्यता बमोजिम जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध छौँ ।’

विश्वमा लोकप्रिय तथा समृद्ध पद्धतिको रूपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवन पद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै गएको मुख्यमन्त्री राईको भनाइ छ । गत वर्षदेखि विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड—१९) का कारण गणतन्त्र दिवस खुला र भव्य रुपमा आयोजना गरी मनाउन सम्भव नभएको बताउँदै मुख्यमन्त्री राईले कोरोना भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन विशेष अपीलसमेत गरेका छन् । ‘यस ऐतिहासिक दिवसले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्धनसहित समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न एवं कोभिड—१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ मुख्यमन्त्रीद्धारा जारी सन्देशमा भनिएको छ ।