धरानः केही समययता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको लापरबाही र गैरजिम्मेवार कार्यहरुको विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि धरानमा राजनीतिक दलहरुले एकमुष्ट रूपमा खबरदारी गराएका थिए ।
अक्सिजन अभाव रहेकाले यथाशीघ्र अक्सिजन प्लान्ट मर्मत गर्न, कोरोना संक्रमितको उपचारमा लापरबाही नगर्न माग गर्दै धरानका राजनीतिक दलहरुले प्रतिष्ठानलाई दबाब दिएका थिए । बाहिरबाट मात्र होइन भित्र प्रतिष्ठानकै कर्मचारीहरु पनि विभिन्न बहानामा आन्दोलन र धर्नामा निस्किने गरेका छन् । कोरोना महामारीकै बेला, तलब भत्ता नदिएको, सुरक्षा नभएको, लापरबाही गरेको, इन्टरनेटको ठगी धन्दा भएको, आदि विभिन्न विषयमा प्रतिष्ठानमा धर्ना तथा आन्दोलन भएका थिए । कोरोना संक्रमणको दोस्रो लहर सुरु हुनुअघि नै अक्सिजन प्लान्ट मर्मत तथा सुधार गर्नुपर्नेमा नगरेको, कोभिड अस्पताललाई गुणस्तरीय नबनाएको र पदाधिकारीहरु गैरजिम्मेवार भएकोले ध्यानाकर्षण गराउन सर्वदलीय टोली शान्तिपूर्ण रुपमा प्रदर्शनमा ओर्लिएका थिए ।
बिरामीहरुले भेन्टिलेटर नपाएर, अक्सिजन अभावमा ज्यान गुमाइरहेको तर पदाधिकारीहरु भने कमिसन र भ्रष्टचार गर्नमै ब्यस्त भएको भन्दै एमाले नगर अध्यक्ष नारायण सुवेदी र नेपाली काङ्ग्रेस धरानका नेता सुजेन्द्र तामाङले आरोप लगाएका थिए । धर्ना र विभिन्न समाचारको प्रभावले अक्सिजन प्लान्ट सञ्चालनमा आएको प्रतिष्ठानले विज्ञप्ति जारी गरी जानकारी दिएको थियो । यता बिरामीले बेड नपाएर बाहिर नै रात बिताइरहेका छन् । पश्चिमबाट उपचारका लागि आएका यी बिरामी अक्सिजन सिलिन्डरसहित बाहिरै रहेको दृश्य कैद गरी सामाजिक सञ्जालमा धरानका एक व्यावसायीले पोस्ट गरेका थिए ।
यो तस्बीरको दृश्य देखेर गरिब तथा सामान्य परिवारले प्रतिष्ठान बाट के आशा गर्ने ?? तस्बीरले प्रतिष्ठानको गुणस्तर र सेवामाथि नै प्रश्न चिन्ह उठाएको छ । अक्सिजन अभावका कारण केही समययता बिरामी भर्नामा रोक लगाएको भन्दै टिकाटिप्पणीसमेत भएको थियो । प्रदेश नम्बर १ कै धरोहरको रुपमा चिनिएको बीपी प्रतिष्ठान विभिन्न राजनीतिक दलहरुको अखडाको रुपमा परिणत भएको छ । कोरोना महामारीको दोस्रो लहरसँगै जनमानसमा प्रतिष्ठानप्रति आशा पलाउनुको सट्टा झन विश्वास हटेर गएको छ । यो विषयमा स्थानीय सरकार र प्रदेश सरकारसमेत मौन भएर बसेको अवस्था छ ।