इटहरीः प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने दुई हजार दुई सय ४४ सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
विभिन्न जिल्लामा लागु गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने दुई हजार दुई सय ४४ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको हो । तीमध्ये पाँच सय ४८ वटा मालवाहक तथा यात्रुवाहक सवारी साधन रहेका छन् भने एक हजार ६ सय ९६ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछपश्चात् छोड्ने गरिएको छ ।
यस्तै कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने पाँच सय ९७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम ६१ हजार पाँच सय रुपैयाँ जरिवाना गरिएको छ । साथै तीन हजार सात सय ८२ जनालाई रोकी सम्झाइबुझाई छोडिएको छ । साथै देशभर सञ्चालित ९४ वटा माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत १६ हजार सात सय ६४ जनालाई सचेत गराइएको नेपाल प्रहरीले जानकारी दिएको छ । निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको जानकारी दिएको छ ।