इटहरीः १४ औँ गणतन्त्र दिवसका अवसरमा देशभरका चार सय तीस जना कैदीको सजाय मिनाहा गरिएको छ ।
मन्त्रिपरिषद्को सिफारिसका आधारमा विभिन्न आपराधिक कसुरमा सजाय भुक्तान गरिरहेकामध्ये चार सय तीस जनाको बाँकी कैद राष्ट्रपति विद्यादेवी भण्डारीले मिनाहा गरेकी हुन् । राष्ट्रपति भण्डारीले कैद मिनाहाको घोषणा गरेसँगै मिनाहा पाउने कैदी रिहा भएका छन् । राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानून र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतका आधारमा उक्त मिनाहा दिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गणतन्त्र दिवसका अवसरमा असल चालचलन भएका जघन्य अपराधबाहेक अन्य कसुरमा कैद भुक्तान गरिरहेका कैदीहरुको कैद मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मिनाहा गर्ने परम्परा छ ।