इटहरीः मोरङको विराटनगरका उद्योगीका लागि प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले सुटुक्क कोरोना विरुद्धको खोप उपलब्ध गराएको खुलासा भएको छ ।
पहिलो डोज लगाइसकेका उद्योगी व्यवसायीहरु दोस्रो डोज लगाउनका लागि विराटनगरको तीनपैनीस्थित सीटी सिनेमा हलमा भेला भएकोमा सर्वसाधारणसमेत पुगेपछि उद्योगीलाई खोप उपलब्ध गराइएको पुष्टि भएको हो । कोरोना संक्रमणका कारण सामान्य नागरिक अक्सिजन नपाएर मृत्यु वरण गर्नु परिरहेको अवस्थामा उद्योगीका लागि भने सामाजिक विकास मन्त्रालयले नै गुपचुप रुपमा खोपको बन्दोबस्त मिलाएको हो । उद्योग संगठन मोरङका अध्यक्ष तथा सो हलका सञ्चादकमध्येका एक सुयस प्याकुरेलले हल उपलब्ध गराएपछि उनकै आग्रहमा उद्योगीहरु खोप लगाउने उद्देश्यले हलमा जम्मा भएकोमा सर्वसाधारण तथा विद्यार्थी नेताहरुले अवरोध गरेपछि कसैलाई जानकारी नै नदिई खोप लगाउने उद्योगीको गुरु योजना (मास्टर प्लान) मा तुसारापात भएको छ । स्थानीयको चर्को विरोधपछि परिचालित प्रहरीले सर्वसाधारण तथा उद्योगी दुवैलाई संयमित रुपमा घर पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले भने, ‘हामीलाई पनि खोपका बारेमा जानकारी थिएन, सूचना आएपछि प्रहरी टोली मद्दतका लागि पुग्यो,’ उनले भने, ‘खोप माग्ने सर्वसाधारणलाई छैन रहेछ भन्दै सम्झाएर पठायौं ।’ परिवर्तनका लागि हातेमालो सँस्थाका अध्यक्ष विनोद चाहालले फ्रन्टलाइनरलाई नदिएर व्यापारीलाई खोप दिन लागिएकाले आफूहरुले अवरोध गरेको बताए । यसैगरी, विद्यार्थी नेता ताजिम अन्सारीले प्रदेश सरकारले लुकाइछिपाई पहुँचवालालाई खोप बाँड्न लागेकोमा आफूहरुले अवरोध गरेको जानकारी दिए । यता, खोप लगाउनका लागि एक्लै आउन उद्योगीलाई सूचना दिने हल सञ्चालक प्याकुरेलले भने खोप लगाएको विषयबारे आफू अनभिज्ञ रहेको भन्दै आफूलाई सुरक्षित गरेका छन् । ‘सिटी सिनेमामा भिडभाड थियो भन्ने जानकारी मलाई पनि आयो तर म घरबाट बाहिर निस्किएको छैन,’ उनले भने, ‘उद्योगी–व्यावसायीलाई खोप लगाइएको बारे मलाई जानकारी भएन ।’ प्रदेश सरकारको मुख्यमन्त्री निवासमा खोप लगाउने गरी तय भइसकेको कार्यक्रम भने प्याकुरेलकै आग्रहमा स्थगित भई सो हलमा राखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङ जनस्वास्थ्य कार्यालयका खोप प्रमुख रमानन्द यादवले मोरङमा पहिलो डोज लगाएकाहरुको दोस्रो डोज लगाउने अवधि सकिदै गएको बताउँदै मन्त्रीको सिफारिसमा दोस्रो डोज लगाउने काम भइरहेको खुलासा गरे । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखले सिटी सिनेमामा खोप दिन जानु भन्ने निर्देशन दिएपछि आएको बताउँदै यादवले एक सय ५० जनालाई खोप लगाइएको जानकारी दिए । अहिलेसम्म मोरङमा कोभिसिल्डको पहिलो मात्रा ६६ हजार ६ सय १५ र दोस्रो मात्रा ११ हजार ३ सय ४८ जनाले लगाएका छन् ।