काठमाडौँः कोभिड–१९ विरुद्धको पहिलो डोज खोप लगाएर दोस्रो डोजको पर्खाइमा रहेका र जोखिममा रहेका नागरिकका लागि थप खोप ल्याउन सरकार प्रयासरत छ ।

विश्व बजारमा खोप अपर्याप्त भएको र अग्रिम भुक्तानी गरिसकेको १० लाख डोज खोप पनि नआएपछि सरकारलाई हम्मे–हम्मे परेको छ । यद्यपि, नेपालको ‘कोल्डचेन’मैत्री खोप खरिदका लागि खोप उत्पादक मुलुक र कम्पनीहरुसँग निरन्तर छलफल भइरहेको सरकारी अधिकारीहरुले बताउँदै आएका छन् । कोभिड–१९ विरुद्धको पहिलो डोज कोभिसिल्ड खोप लगाएर दोस्रो डोजको पर्खाइमा रहेका १४ लाख ५३ हजार ज्येष्ठ नागरिकले दोस्रो डोज कहिले पाउने भन्ने टुंगो छैन । गएको फागुन दोस्रो सातादेखि खोप लगाएका ती नागरिकले आठ हप्तामा पाउनुपर्ने दोस्रो डोज तीन महिना बितिसक्दा पनि पाएका छैनन् । सरकारले भारतको सिरम इन्स्टिच्युबाट २० लाख डोज खोप खरिदका लागि फागुनको पहिलो साता प्रतिडोज चार डलरका दरले अग्रिम भुक्तानी गरिसकेको भए पनि १० लाख डोज खोप अहिलेसम्म आउन सकेको छैन ।

भारतमा निर्यात खुला भएपछि कोभिसिल्ड खोप पाउने नेपाल पहिलो मुलुक हुने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आश्वासन दिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्री त्रिपाठीले नेपाललाई उपयुक्त हुने खोप आयातका लागि उत्पादक सबै मुलुक तथा कम्पनीहरुसँग सरकार घनीभूत छलफलमा रहेको भन्दै अबको केही दिनमै नेपालले कोभिड–१९ विरुद्धको खोप पाउने बताएका थिए । तर, भारतबाट आउन बाँकी १० लाख डोज खोपबारे भने उनले केही बोलेनन् । मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार तत्काल कोभिसिल्ड खोप ल्याउनेबारे कुनै निर्णय भएको छैन ।

खोपमा अनुदानकै भर
नेपाललाई पहिलोपटक कोभिड–१९ विरुद्धको १० लाख डोज कोभिसिल्ड खोप भारत सरकारले अनुदानमा दिएको थियो । उक्त खोप चार लाख २९ हजार ‘फ्रन्टलाइनर’लाई दिइएको थियो । विश्व स्वास्थ्य संगठनको ग्लोबल भ्याक्सिन अलायन्स ‘कोभ्याक्स’ कार्यक्रमअन्तर्गत नेपालले जम्मा २२ लाख ५६ हजार डोज खोप पाउने संगठनले घोषणा गरेको छ । जसमध्ये तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपालले पाइसकेको छ । कोभ्याक्सअन्तर्गतको बाँकी खोप भारतको सिरम इस्टिच्युट अफ इन्डियाबाट तत्काल नआउने भएपछि कोभ्याक्सले नेपाललाई त्यसको विकल्पको रुपमा अन्य खोप सिफारिस गर्न पत्राचार गरेको थियो ।

खोप आयातको जिम्मा पाएको स्वास्थ्य सेवा विभागले कोभिसिल्डको विकल्पमा अष्ट्राजेनिका र जोन्सन एन्ड जोन्सनको खोप दिन माग गरेको छ । पहिलो डोज कोभिसिल्ड खोप लगाएकाहरुलाई अष्ट्राजेनिकाले उत्पादन गरेको खोप दिन मिल्ने स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा निर्देशक डा. तारा पोखरेल बताउँछन् । त्यस्तै, नेपालाई यसअघि चीन सरकारले आठ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो, यो खोपको दुवै डोज १८ देखि ५९ वर्षका नागरिकलाई दिइसकिएको छ । बुधबार चीन सरकारले थप १० लाख डोज खोप नेपाललाई अनुदानमा दिने घोषणा गरेको छ ।

अध्यादेशले खोलेको खोपको बाटो
हालै जारी ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८’ मा संकटकालीन अवस्थामा खरिद इकाइमार्फत खोप सोझै खरिद गर्न सकिने व्यवस्था गरिएको छ । अध्यादेशमा भनिएको छ, “नेपाल सरकारको स्वास्थ्य सेवाको कम्तीमा एघारौँ तहको अधिकृत रहने गरी छुट्टै खरिद इकाइ रहनेछ, जसले खोप उत्पादक, वितरक, आधिकारिक विक्रेता वा अन्तर्राष्ट्रिय संस्थासँग खोप सोझै खरिद गर्न सकिनेछ । यसरी अधिकारप्राप्त अधिकारीले मुलुकभित्र खोप पर्याप्त मात्रामा उपलब्ध हुन नसकेमा आफैँ वा विदेशस्थित कूटनीतिक नियोगमार्फत सोझै खरिद गर्न सक्नेछ ।

यस अध्यादेशमार्फत खरिदकार्य गर्दा खरिदसम्बन्धी प्रचलित कानुनबमोजिमको खरिद गुरुयोजना वा वार्षिक खरिद योजना बनाउन आवश्यक पर्ने छैन । अध्यादेशबमोजिम खरिद गरिएकोमा प्रचलित खरिदसम्बन्धी कानुनबमोजिम नभएको भनी प्रश्न उठाउन पाइने छैन ।” अध्यादेशले खुलाएको यो बाटोबाट खोप आयातमा केही सहज हुने विज्ञहरुको बुझाइ छ । नेपालमा जेठ ११ गतेसम्म २१ लाख १३ हजार ८० जनाले पहिलो डोज र ६ लाख २८ हजार ८८४ जनाले दुवै डोज खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । -बाह्रखरीबाट