इटहरीः सुनसरीको इटहरीमा सञ्चालित सप्कोसी एफएमका महाप्रबन्धक चन्द्रप्रसाद न्यौपानेको कोरोना संक्रमणका कारण निधन भएको छ ।

इटहरी ४ निवासी न्यौपानेको उपचारका क्रममा आज बिहान ८ः२५ बजे निधन भएको सप्तकोसी एफएमका समाचार प्रमुख लिलाराज भट्टराईले जानकारी दिए । महाप्रबन्धक न्यौपाने देशभरका रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल (बान) का केन्द्रीय अध्यक्ष पनि थिए । यसैगरी, नेपाल विज्ञापन बोर्डको सदस्यका रुपमा पनि न्यौपाने सक्रिय रहेका थिए । यसका अतिरिक्त न्यौपाने नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सुनसरी जिल्ला सदस्यसमेत थिए ।

५० वर्षीय न्यौपानेलाई मुटुको समस्या देखिएपछि वैशाख २८ गते राति ८ः३० बजे उपचारार्थ अस्पताल भर्ना गरिएको थियो । मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा न्यौपानेको निधन भएको हो ।