इटहरीः अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका धरान सम्वाददाता रत्नप्रसाद आचार्यमाथि अपमानजनक भाषा प्रयोग गरी नेपाली कांग्रेससम्बद्ध विभिन्न भ्रातृ संगठनले विज्ञप्ति प्रकाशन गरेकोप्रति पत्रकार संगठनहरुले आपत्ति जनाएका छन् ।

पत्रकार आचार्यले ‘सर्दु जलाधारको १८२ बिघा जग्गा फिर्ता’ शीर्षकमा सोही दैनिकमा लेखेको समाचारमा नेपाली कांग्रेस सुनसरीका सदस्य किशोर राईको चरित्रहत्या गरेको आरोप लगाउँदै सो पार्टीसम्बद्ध विभिन्न भ्रातृ संगठनले निकृष्ठ, अमर्यादित र अपमानजनक शब्द प्रयोग गरी आचार्यलाई सामाजिक बहिष्कारसमेतको धम्कीपूर्ण विज्ञप्ति जारी गरेपछि सम्पूर्ण पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ सुनसरी शाखा तथा विभिन्न राजनीतिक दलसम्बद्ध पत्रकार संगठनहरुले छुट्टाछुट्ै विज्ञप्ति जारी गरी भत्सर्ना गरेका हुन् ।

नेपाल पत्रकार महासंघका तर्फबाट सचिव ध्रुव ढकालद्वारा जारी विज्ञप्तिमा समाचारमाथि चित्त नबुझे वा गुनासो रहे त्यसउपर कानूनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति रहेको भन्दै सोको बेवास्ता गर्दै पत्रकार आचार्यप्रति अपमानजनक शब्द प्रयोग गरी लगाइएका लाञ्छनामाथि खेद प्रकट गरिएको छ । यस्तो कार्यमा संलग्नलाई कानूनी दायरामा ल्याउन तथा पत्रकारको सुरक्षामा विशेष ध्यान दिन पनि महासंघले प्रशासनको ध्यानाकर्षण गराएको छ ।

fnj1

यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केपी शर्मा ओलीसम्बद्ध भ्रातृ संगठन प्रेस चौतारी नेपालका अध्यक्ष शेखर ढकालद्वारा जारी विज्ञप्तिमा समाचारमा चित्त नबुझे कानूनी उपचारमा जान सकिने नागरिकको हक हुँदाहुँदै यस प्रकारका विज्ञप्ति निकाली पत्रकार र पत्रकारिताप्रति प्रहार गरिनु प्रेसविरोधी कार्य भएको ठहर गर्दै पत्रकार आचार्यप्रति प्रयोग गरिएका शब्द र लगाइएका लाञ्छनाप्रति खेद व्यक्त गरिएको छ ।

यसैगरी, नेकपा एमालेकै माधव नेपाल पक्षसम्बद्ध प्रेस चौतारी नेपालका तर्फबाट सुनसरी संयोजक प्रेमप्रसाद बास्तोला तथा सचिव विकास चाम्लिङ राईद्वारा जारी विज्ञप्तिमा पत्रकार आचार्यद्वारा प्रकाशित समाचारमा राजनीतिक दलका नेताहरुले लिएको जग्गा फिर्ता भएको तथ्यसमेत उल्लेख गरिएकोमा नपाली कांग्रेस सुनसरीका सदस्य तथा धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले पार्टीका भ्रातृ संगठन तथा आफैँ अध्यक्ष रहेको फुटबल क्लबको लेटरप्याड दुरुपयोग गरी धम्कीपूर्ण भाषामा विज्ञप्ति जारी गर्न लगाएको ठहर गरिएको छ । समाचारमाथि चित्त नबुझे खण्डन छाप्ने तथा कानूनी उपचार खोज्ने वैधानिक बाटो हुँदाहुँदै नेपाली कांग्रेसका जिम्मेवार भ्रातृ संगठनले दिएको धम्कीले संविधानले व्यवस्था गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थामाथि नै प्रहार भएको चौतारीको निष्कर्ष छ । धम्कीपूर्ण विज्ञप्ति जारी गर्ने कार्यमा संलग्नलाई कारबाहीका साथै पूर्ण प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारको सुरक्षा गर्न चौतारीले प्रशासनको ध्यानाकर्षण गराएको छ ।

chautarioli1chautarimadhav1

जेठ ४ गते प्रकाशित उक्त समाचारप्रति आपत्ति जनाउँदै जेठ १० गते नेपाली कांग्रेससम्बद्ध भ्रातृ संगठन नेपाल विद्यार्थी संघका विभिन्न क्याम्पस एकाई सभापतिहरुले संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकारिताको गलत प्रयोग गर्दै भ्रामक सन्देश फैलाउने पत्रकारलाई सामाजिक बहिष्कार गर्नुपर्ने लगायतका माग राखेका थिए । पत्रकार आचार्यमाथि उक्साहट र आर्थिक प्रलोभनमा परी आफ्ना नेताको सामाजिक तथा राजनैतिक मानमर्दन गरेको आरोप लगाउँदै कालोमोसो दलेर नाङ्गेझार बनाउने चेतावनीसमेत विज्ञप्तिमा दिइएको थियो ।

joints1 nsu1