धरानः सुनसरीको धरान १७ स्थित डाँडाघोपावासीहरुले सर्दुखोलामा जथाभावी उत्खनन गरेको विषयमा छलफल गरी मेयर तिलक राई र वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले विवाद मिलाएका छन् ।

आज बिहान सर्दु खोलामा पुगेर स्थानीयले उत्खननमा रोक लगाएका थिए । चुरे क्षेत्र भनेर विगतमा उपमहानगरपालिकाले स्थानीयलाई ढुङ्गा, गिट्टी निकाल्न रोक लगाएको थियो । डाँडाघोपा नमुना मार्ग टोल विकास संस्थाले ढुङ्गा, बालुवा, मिसगिट्टी निकाल्दा गत वर्ष पनि खानेपानीको पाइपलाइनमा क्षति पुगेको भन्दै विरोध गरेको थियो । विमानस्थलको विषयमा पनि छलफल भएको थियो । पाथीभरा निर्माण सेवा इटहरीले प्राप्त गरेको ठेक्का नगरपालिकाको प्रक्रिया अनुसार प्राप्त गरेको तथा नगरपालिकाले दिएको विधि, प्रक्रिया अनुसार नै उत्खनन भइरहेको कम्पनीको दाबी छ । धरान वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष लिम्बूको नेतृत्वमा गएको टोलीले सेउती खोलामा भइरहेको उत्खनन कार्यलाई रोकेको थियो । विभिन्न ७ बुँदाको निर्णय कार्यान्वनय नभएको भन्दै अध्यक्ष लिम्बूले उत्खनन रोकेका थिए ।

IMG20210527162910

धरान १७ सर्दु खोलामा पनि नियम र प्रक्रियामै उत्खनन भएको र सो कार्यबाट धरान उपमहानगरपालिकालाई नै आर्थिक लाभ हुने भएकोले समन्वय गर्न सबैलाई मेयर राईले आग्रह गरेका थिए । सर्दु खोलाको ठेक्काबाट धरान उपमहानगरपालिकालाई वार्षिक ४० लाख आम्दानी भएको मेयर राईले बताए । मेयर राईले स्थानीयलाई के कस्तो समस्या भएको त्यो विषयमा पनि नगरले सम्बोधन गर्दै अघि बढ्ने कुरा व्यक्त गरे । विमानस्थलका विषयमा स्थानीय तहबाटभन्दा पनि केन्द्रले मात्र निर्णय गर्न सक्ने पनि मेयर राइले बताए । धरानको विमानस्थलका विषयमा वडाध्यक्ष  भट्टराईले स्थानीयसँग समन्वय नभएको स्वीकार्दै नगरले गरेको काममा वडाले हस्तक्षेप गर्न नमिल्ने भएको बताए । उनले सो ठाउँको समस्या नियालेर आगामी दिनहरुमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

IMG20210527162221 IMG20210527145641