पाँचथरः पाँचथरमा चार सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार तीन सय ४९ जनाको परीक्षण गर्दा चार सय ९८ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

दोस्रो लहर सुरु भएसँगै पाँचथरमा सङ्क्रमण दर ३७ प्रतिशत छ । मृत्यु दर ०.६ प्रतिशत रहेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर तुम्वापोले बताए । गत वैशाख १९ गतेदेखि हालसम्म जिल्लामा चार सय ९८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको हो । उक्त अवधिमा पिसिआर विधिबाट तीन सय १९ र एन्टिजेन विधिबाट एक हजार ३० जनाको परीक्षण गरिएको थियो । सङ्क्रमण पुष्टि भएकामध्ये तीन जनाको मृत्यु भएको उनले जानकारी दिए ।

सङ्क्रमण पुष्टि भएकामध्ये एक जनाको जिल्लाबाहिर तथा दुई जनाको जिल्लामै उपचारका क्रममा मृत्यु भएको हो । जिल्लामा हालसम्म सघन उपचार कक्ष (आसीयू) र भेन्टिलेटरको प्रबन्ध हुन सकेको छैन । आसीयू , भेन्टिलेटर र अक्सिजन प्लान्ट स्थापनाका लागि सङ्घीय सरकारबाट बजेट प्राप्त भएपनि जडान भएको छैन । सङ्क्रमितको सामान्य उपचार गर्न सक्ने हाई डिफेन्डेन्सी युनिटमा हालसम्म १० वटा शय्या छन् । जिल्लामा ११९ थान अक्सिजन सिलिण्डर रहेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ । गम्भीर समस्या देखिएका बिरामीलाई यहाँबाट तत्कालै रेफर गर्नुपर्ने बाध्यता छ । -रासस