धरानः सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ११ मा कोरोनाकै महामारीका बीच निर्माण भइरहेको स्वास्थ चौकी भवनको निर्माण प्रकृया अन्तिम चरणमा पुगेको छ ।

धरान उपमहानगरपालिकाको कार्यालय र ११ नम्बर वडा कार्यालयको विशेष पहलमा स्वास्थ्य मन्त्रालयले निर्माण गरिरहेको स्वास्थ चौकी भवनको विद्युतीकरणको काम सकिन लागेको हो । कोरोनाको दोस्रो भेरियन्टले आतङ्क मच्चाइरहेको हँुदा आवश्यक पर्ने विकास निर्माणका कार्यहरू चाँडै सम्पन्न गर्न वडा अध्यक्ष बाबुलाल लामा लागिपरेका छन् । धरान ११ को गैरिगाउँ बस्तिमा निर्माण भइरहेको स्वास्थ चौकी भवनमा भविष्यमा आइसोलेसन बनाएर पनि प्रयोग गर्न सकिने भएकोले अध्यक्ष लामा सो भवन र नजिकै रहेको बाल विकास केन्द्रको भवन निर्माण कार्यको अनुगमन गर्न पुगेका थिए । यही वर्ष निर्माण सम्पन्न गरी आफ्नै पालामा सञ्चालनमा ल्याउने तयारी रहेको अध्यक्ष लामाले बताए । अनुगमनसँगै वडाध्यक्ष बाबुलाल लामा स्वास्थ्य सुरक्षाको सामग्री लिएर कोरोना सङ्क्रमण भएका, निको भएका र मृत्यु भएका व्यक्तिहरुको घर घर पुगेका छन् ।

IMG20210526162648

संक्रमण भएका व्यक्तिहरुलार्ई वडाले उपलब्ध गराएको फलफूल, मास्क र सेनिटाइजरसहित वडाध्यक्ष घर घरमा पुगेका थिए । प्रत्यक्ष रुपमा उपस्थित भएर बिरामीको अवस्था बुझी सम्पूर्ण उपलब्ध औषधिहरु सेवन गर्न अनुरोध गर्दै अप्ठ्यारो परेको खण्डमा वडामा सम्पर्क गर्नसमेत वडाध्यक्ष लामाले आग्रह गरेका थिए । कोरोनाको विरुद्धमा सचेत र सजग रहन आम वडावासीलाई आग्रह गर्दै कोरोना रहुन्जेल कोरोनाको कारण केही समस्या परेको खण्डमा वडालाई सम्पर्क गर्नसमेत वडाध्यक्ष लामाले अनुरोध गरे । प्रत्यक्ष रूपमा वडाका जनप्रतिनिधिको उपस्थितिले बिरामीको मनोबल उच्च हुने र स्थानीय सरकार अभिभावक हो भन्ने भावनासमेत जगाउने भएकाले यो अभियान जारी राख्ने वडाका सचिव हिमाल गौतमले बताए । हाल कोरोना भाइरसको नयाँ भेरियन्ट तिव्र गतिमा फैलिरहेको छ ।

IMG20210526172147

पछिल्लो समय नेपालमै पनि महामारीको रूपमा यसले मानवीय क्षति गराइरहेको छ । धरानमा पनि कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो अवस्थामा छ । हालसम्म धरान ११ मा दोस्रो भेरियन्टले जम्मा १२ जना संक्रमण भएका छन् । तीन जनाको मृत्यु भइसकेको छ । निको हुने र नहुने पनि सबै हाल होम आइसोलेसनमा सामान्य अवस्थामा रहेका छन् ।