काठमाडौँः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिन्डर फिर्ता गर्न आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै व्यक्तिगत, संस्थागत, आइसोलेसन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका सिलिन्डर जुन कम्पनी वा अस्पतालको हो उसैलाई फिर्ता गर्न आग्रह गरेका हुन् । उनले अक्जिसनको आपूर्ति सहज भए पनि व्यक्तिगत वा संस्थागत रूपमा लगिएका सिलिन्डर फिर्ता नगर्नाले समस्या भएको बताएका छन् । “एउटा उद्योगका अक्सिजन सिलिन्डर अन्यत्र जाने क्रम पनि अत्यधिक बढिरहेको छ । यसले आगामी दिनमा समस्या निम्त्याउने देखिन्छ“, सहप्रवक्ता डा अधिकारीले जारी गरेको सूचनामा भनिएको छ, “विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले व्यक्तिगत, आइसोलेसन केन्द्र र अस्पतालमा प्रयोगका लागि विभिन्न तरिकाले लगेका अक्सिजन सिलिन्डर समयमा नै जुन कम्पनी वा अस्पतालका सिलिन्डर हुन तिनै अक्सिजन उत्पादक कम्पनी वा अस्पतालमा पुग्ने गरी आवश्यक व्यवस्था मिलाउन अनुरोध छ ।“
सूचनामा अक्सिजन सिलिन्डर देशका दूरदराजमा वा व्यक्तिका घरमा थन्किएर रहेमा अस्पतालमा रहेका सघन उपचाररत सङ्क्रमितलाई समस्या पर्ने उल्लेख गरिएको छ । उनले सङ्क्रमणको महामारीको समयमा अक्सिजन जस्तो औषधीय विषयमा प्राविधिक ज्ञान र विवेकभन्दा बाहिर गएर निर्णय गर्र्ने÷गराउने कार्यलाई बन्द गर्न÷गराउन तथा अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी समन्वयको व्यवस्थापन गर्नसमेत अाग्रह गरेका छन् । मन्त्रालयका अनुसार अहिले ३२ वटा अस्पतालमा अक्सिजन प्लान्ट र तीन अस्पतालमा तरल अक्सिजन प्लान्ट रहेका छन् । सङ्क्रमणको दोस्रो लहर आइसकेपछि सरकारले ९०० अक्सिजन कन्सन्ट्रेटर र पाँच हजार अक्सिजन सिलिन्डर ल्याएको छ । मन्त्रालयले अहिले हप्तामा ७० देखि ८० टन तरल अक्सिजन भारतमा आयात गरिरहेको छ । -रासस