काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य अवस्था सामान्य भएका कोरोना संक्रमितलाई होम आइसोलेसनमा बस्न आग्रह गर्दै आएको छ ।

लक्षण नदेखिएका र सामान्य अवस्थाका संक्रमितसमेत अस्पतालमा बस्दा जटिल अवस्थाका संक्रमितले बेड नपाउने समस्या हुनेभन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो । यद्यपि मन्त्रालयले कस्ता कोरोना संक्रमित तत्काल अस्पताल गइहाल्ने भन्ने पनि स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार आफ्नो हेरचाह गर्न नसक्ने बुढाबुढी वा अपाङ्गता भएका व्यक्तिहरु संक्रमित भए तत्काल अस्पताल जानु पर्ने बताएको छ । ज्वरोको औषधि खुवाउँदा पनि १०१ फरेनहाइट ज्वरो तीन दिनसम्म लगातार आइरहेमा तत्काल अस्पताल जाने प्रबन्ध मिलाउनु पर्ने मन्त्रालयले जनाएको छ । 

लगातार छाती दुख्ने र शरीरमा अक्सिजनको मात्रा कम भई अप्ठ्यारो महसुस भएमा पनि घरमा नबसेर अस्पताल जान स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । लामो वाक्य बोल्न नसक्ने अथवा बोली अस्पष्ट भएको खण्डमा पनि घर बसेर जोखिम मोल्न नहुनेभन्दै तत्काल अस्पताल गएर उपचार गर्नुपर्ने मन्त्रालयले जनाएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ रहेको छ । यसमध्ये ८ हजार ८३३ संक्रमित मात्रै संस्थागत आइसोलेसनमा छन् । बाँकी सबै संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक छ । चिकित्सकहरुका अनुसार होम आइसोलेसन अस्पतालबाट आधा घण्टाभन्दा कमको दूरीमा हुनु पर्छ । अन्यथा संक्रमितलाई स्वास्थ्यमा समस्या देखिँदा आधा घण्टाभित्र कोभिड अस्पताल पुर्याउन नसकिए थप समस्या सिर्जना हुने चिकित्सकहरुको भनाइ छ । -बाह्रखरीबाट